ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विराटनगरमा माछा अभाव

Apr 2, 2019  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशनी भट्टराई
विराटनगर । सरकारले भारतबाट पशुपन्छी आयातमा रोक लगाएसँगै प्रदेश नम्बर १ को राजधानी विराटनगरमा माछाको अभाव देखिएको छ । भारतबाट माछा आयातमा रोक लागेसँगै विराटनगरमा माछाको मूल्यसमेत वृद्धि भएको छ । स्वदेशी उत्पादनका लागि बजार व्यवस्थापन गर्न, उपभोक्तालाई स्वच्छ तथा स्वस्थ मासु उपभोग गराउन र मुलुकलाई मासुजन्य उत्पादनमा आत्मनिर्भर बनाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयको निर्देशनमा केही दिनदेखि पशुपन्छी आयातमा कडाइ गरिएको छ । प्रतिबन्धपछि भारतबाट आउने सरुवा रोगको नियन्त्रणमा समेत सहयोग पुग्ने सरकारको भनाइ छ । विराटनगरका माछा व्यवसायीले भारतबाट आयात रोकिएकाले उपभोक्ताको मागअनुसार माछा आपूर्ति गर्न नसकिएको बताएका छन् । आयातमा रोक लागेसँगै माछाको मूल्यवृद्धि भएको उनीहरूको भनाइ छ । माछा व्यवसाय संघका अध्यक्ष मालबाबु सहनीले विराटनगर नाकाबाट दैनिक ६ मेट्रिक टनभन्दा बढी भारतीय माछा आयात हुने गरेको जानकारी दिए । उनका अनुसार हाल दैनिक करीब एक मेट्रिक टनमात्र नेपाली माछा बजारमा भित्रिने गरेको छ । विराटनगरबाट पूर्वका इटहरी, बेलबारी, धरान, धनकुटा, खाँदबारीसहित प्रदेश नम्बर २ का सप्तरी र सिरहालगायत जिल्लामा समेत भारतीय माछा जाने गरेको सहनीले बताए । विगत केही महीनादेखि प्रदेश २ बाट विराटनगरमा माछा आउने क्रम बढेको थियो । तर, सरकारले भारतीय माछा आयातमा रोक लगाएसँगै प्रदेश २ को माछासमेत आउन छाडेको सहनीले बताए । भारतबाट माछा आयातमा रोक लागेसँगै विराटनगरमा माछामा प्रतिकिलो ५० देखि सय रुपैयाँसम्म मूल्यवृद्धि भएको छ । थोकबाटै महँगो किनेर ल्याउनुपर्ने भएकाले उपभोक्तालाई बेच्दा मूल्यवृद्धि भएको खुद्रा व्यवसायी बताउँछन् । पहिले २ सय ५० देखि ३ सयसम्म थोकमा विक्री हुने माछा अहिले खुद्रामा प्रतिकिलो ३ सय ५० देखि ४ सय ५० रुपैयाँमा विक्री हुने गरेको छ । भारतबाट वार्षिक १ अर्ब ८३ करोड रुपैयाँबराबरको माछा आयात हुने गरेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)