रुकुमपूर्वको उद्योग व्यापारमा करीब साढे १ अर्ब लगानी
Apr 2, 2019
 
प्रदेश समाचार
रुकुम । रुकुमपूर्वको उद्योग व्यापारमा करीब साढे १ अर्ब लगानी भएको छ । जिल्लाको व्यापार, व्यवसाय र घरेलु तथा साना उद्योगमा १ अर्ब ३२ करोड ६५ लाख लगानी गरिएको रुकुमकोट उद्योग वाणिज्य संघ, रुकुमपूर्वका अध्यक्ष यज्ञप्रकाश मल्लले बताए । ‘संघमा दर्ता भएका ६ सय २२ ओटा घरेलु तथा साना उद्योग र व्यापार व्यवसायमा उक्त लगानी भएको हो,’ उनले भने ।
सबैभन्दा बढी वाणिज्यतर्फका ५ सय १२ ओटा व्यवसाय फर्म छन्, जसमा रू. १ अर्ब २४ करोड रुपैयाँ लगानी गरिएको छ । त्यस्तै ८९ ओटा होटल व्यवसायमा रू. ४ करोड ४५ लाख र २१ ओटा साना तथा घरेलु उद्योगमा ४ करोड २० लाख रुपैयाँ लगानी रहेको रुकुमकोट उद्योग वाणिज्य संघ, रुकुमपूर्वको तथ्यांक छ ।
पछिल्लो समय रुकुमकोट आसपासका क्षेत्रमा व्यापार व्यवसाय र घरजग्गाको कारोबार समेत बढ्दै गएको छ । यस क्षेत्रमा करीब २ दर्जनभन्दा बढी ठूला होटल खुलेका छन् ।
जिल्लामा १ हजारभन्दा बढी रोजगारी सृजना भएको छ । घरेलु तथा साना उद्योग र व्यापार व्यवसायबाट १ हजार १ सय २६ जनाले रोजगारी पाएको रुकुमकोट उद्योग वाणिज्य संघ रुकुमपूर्वले बताएको छ ।
३ सय ८६ फर्म निष्क्रिय
रुकुमपूर्वका ३ सय ८६ व्यावसायिक फर्म निष्क्रिय भएका छन् । रुकुमपूर्वको उद्योग वाणिज्य संघमा दर्ता भएका उक्त संख्याका व्यापार व्यवसाय निष्क्रियको सूचीमा परेका हुन् । संघमा दर्ता भएका १ हजार ८ फर्ममध्ये ६ सय २२ मात्र सञ्चालनमा रहेको पाइएको छ । लामो समयसम्म दर्ताको नवीकरण नगरिएका व्यापार व्यवसायलाई निष्क्रियको सूचीमा राखिएको संघका पूर्वअध्यक्ष यज्ञप्रकाश मल्लले बताए । जिल्लामा विशेषगरी नेपाली कागज उद्योग, काष्ठ उद्योग र विभिन्न पसल बन्द भएको पाइएको छ ।