चैत १९, धनगढी । कर्णाली नदीमा बृहत जलयात्रा हुने भएको छ । यहि चैत २३ गतेदेखि २५ गतेसम्म हुने बृहत जलयात्रा कर्णाली नदीमा हुने भएको हो ।
कर्णालीमा हुन लागेको बृहत जलयात्रामा एकसय ११ वटा र्याफ्टिङबाट १ हजार ११० जनालाई जलयात्रामा सहभागी गराइने जिल्ला समन्वय समिति कैलालीका सभापति सुर्यबहादुर थापाले मंगलवार धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिए । कैलालीको मोहन्याल गाउँपालिका ६ सोल्टादेखि चिसापानीसम्म २३ किलोमिटरको जलयात्रामा नेपाल, भारत र तेस्रो मुलुकबाट समेत पर्यटकहरु आउने लक्ष्य लिएको थापाले बताए ।
‘कर्णाली र्याफ्टिङ जेम्बोरी २०१९’ नाम दिइएको उक्त जलयात्राको सम्पुर्ण तयारी पूरा भएको सभापति थापाको भनाइ छ । उनले नेपालका बिभिन्न स्थानबाट र्याफ्टिङहरु ल्याउने काम भैरहेको बताए ।
जलयात्राको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र ५ नम्बर प्रदेशका मुख्यमन्त्रीहरुले संयुक्त रुपमा उद्धघाटन गर्ने कार्यक्रम रहको छ ।मोहन्याल गाउँपालिका कैलालीको आयोजना तथा जिल्ला समन्वय समिति कैलालीको समन्वय, नेपाल पर्यटन बोर्ड, नाटा सुदूरपश्चिम र सुदूरपश्चिम पर्यटन तथा सांस्कृतिक विकास मञ्चको सहयोगमा कार्यक्रम आयोजना गरिन लागेको हो ।