रौतहट । रौतहटमा रहेको एक बस्ती नै विनाश हुने गरी विद्युतीय रेल मार्गको सबस्टेशन बनाउन लागेको भन्दै स्थानीय आक्रोशित भएका छन् । चन्द्रपुर नगरपालिका–८ का स्थानीयले पुरानो बस्तीलाई विनाश गरेर मेची महाकाली विद्युतीय रेल मार्गको सबस्टेसन बनाउन लागेको भन्दै विरोध गरेका हुन् ।
करीब २ सय वर्ष पुरानो मोतीपुर, हात्तीसार, थलहीटोल स्थित मठमन्दिर तथा बस्ती नै विनाश हुने गरी रेल्वे सबस्टेशन बन्ने थाहा पाएपछि स्थानीयले रेल्वे सबस्टेशन पीडित संघर्ष समिति गठन गरी आन्दोलित भएका हुन् । संघर्ष समितिका संयोजक दामोदर घिमिरेले ट्र्याक खोल्न सहमति व्यक्त गरेको भए पनि सिंगो गाउँ नै विस्थापित हुने गरी सबस्टेशन बनाउन लागेकाले आन्दोलित हुनु परेको बताए ।
सरकारको ध्यानाकर्षण गराउन विभिन्न निकायमा पुगी ज्ञापन पत्र बुझाएको समेत उनले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय गौरमार्फत गृह मन्त्रालय, रेल्वे विभाग, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, नापी, मालपोत र नगरपालिकालाई ज्ञापन पत्र बुझाएको उनले बताए । मेची महाकाली विद्युतीय रेलमार्गको बर्दिबास निजगढ रेल खण्ड निर्माणका लागि रौतहटभित्र पर्ने जग्गा प्राप्ति गर्न जिल्ला प्रशासन कार्यालय गौरले यही फागुन ७ गते सूचना प्रकाशित गरेको थियो ।
यसअघि रेल्वे चल्ने भएपछि खुशी भएका स्थानीय सूचना जारी गरेपछि बस्ती नै हटाइन लागेको भन्दै आक्रोशित बनेका हुन् । साविकको सन्तपुर मटिऔन–९ भनेर सूचना निकालिएकाले यसले सिंगो गाउँ विस्थापित हुने खतरा बढेको स्थानीयको बुझाइ छ । यस क्षेत्रमा ५ सय ५१ घरधुरीसहित १ सय २० बिघा क्षेत्रफल पर्छ । सर्वेका क्रममा विवाद नआएको तर सूचना निकालिएपछि बस्तीका बारेमा विवाद भएको सर्वेक्षक अजयकुमार यादवले बताए । यसबारे छलफलबाट निकास निकालिने उनले जानकारी दिए ।
रौतहटको चाँदी नदीदेखि रंगपुरको चोचासम्म ७ किलोमिटर जमीन पर्ने सर्वेक्षक यादवले बताए । उनका अनुसार बर्दिवासदेखि लालबन्दीसम्मको कोरिडोर बनिसकेको र पुल तथा ट्र्याक राख्न बाँकी रहेको छ । जमीन विवाद टुंगिएपछि कामले तीव्रता पाउने र दुई वर्षभित्रमा निजगढसम्म ट्र्याक पुर्याउने लक्ष्य राखिएको उनले बताए ।
मेची महाकाली विद्युतीय रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) दुई वर्षअघि नै सकिसकेको उनले जानकारी दिए । विद्युतीय रेलमार्गको लम्बाइ ९४५ किलोमिटर लामो हुनेछ । स्थानीयले भने रेल्वेको बर्दिबास कार्यालय पुगेर बस्ती मास्ने काम नगर्न सचेत गराएका छन् ।