चैत २१, रौतहट । रौतहटका ईंटा उद्योगमा माटोको अभाव हुन थालेपछि उद्योगले किसानको जमिनबाट माटो किन्न थालेको छ । उद्योग संचालकले किसानले खेति गर्दै आएको जमिन भाडामा लिएर ईंटा बनाउनका लागि माटो किन्न थालेका हुन् ।
उद्योगलाई माटो विक्रि गरेबापत् किसानले नगद वा ईंटा लिने गरेका छन् । खेतको सतह मिलाउनका लागी ईंटा उद्योगलाई माटो विक्री गरेको किसान राम एकवाल साहले बताए । जमिन अग्लो भएकाले जमिनको सतह मिलाउनका लागि ७ कट्ठा खेतको माटो विक्री गरेको उनले बताए ।
ईंटा उद्योगका संचालकसंग सम्झौता गरेर माटो विक्री गर्ने गरेको उनको भनाई छ । पछिल्ला समय ईंटा उद्योगलाई माटोको समस्या हुन थालेपछि किसानसंग खरिद गर्न थालेका हुन् । ईंटा बनाउन बलियो र कमेरो माटोको आवश्यक पर्ने हुँदा यस्तो माटो खेतीयोग्य जमिनमा पाईने भएकाले उद्योग संचालकले माटो किनेका हुन् । प्रतिवर्ष प्रति कट्ठा रू.१० हजारका दरले जमिन भाडामा लिएर माटो उत्खनन गर्ने गरेको राम जानकी ईंटा उद्योग प्रा.लि.का संचालक मोहन साहले बताए ।
एउटा ईंटा उद्योगलाई १२ विघा जमिनको माटोले पाँच वर्ष सम्म पुग्ने उनको भनाई छ । उद्योग संचालन गर्न समस्या भएपछि किसानको खेतको माटो खरीद गर्नुपर्ने बाध्यता रहेको उनले बताए । सम्झौता अनुसार किसानसंग खेत भाडामा लिई उद्योग संचालकले दुई देखि चार फिट सम्म गहिरो बनाई उत्खनन् गर्ने गरेका छन् । रौतहट ईंटा व्यवसायी संघका सचिव समेत रहेका साहले जिल्लामा १ सय ५६ वटा ईंटा उद्योग रहेको र उद्योगमा माटो अपुग रहने गरेकाले उद्योग नजिक खेत भएका किसानसंग माटो किन्ने गरेको बताए । खेतियोग्य जमिनको माटो ईंटा उद्योगलाई विक्री गर्न थालेपछि कृषि उब्जनी समेत कम हुन थालेको छ ।
खेतको तल्लो सतहमा बालुवा निस्कने हुँदा कृषि उब्जनीमा समस्या हुने गरेको कृषि ज्ञान केन्द्र गौरका निमित्त प्रमुख रविन्द्र कुमार श्रीवास्तवले बताए । खेतीयोग्य जमिन खण्डीकरण गरि विक्री गर्ने ,माटो ईंटा उद्योगलाई दिने जस्ता कार्यले गर्दा खेतियोग्य जमिनको कमी भई उत्पादनमा समेत ह्रास आएको उनले बताए ।
जिल्लाको कुल ३४ हजार हेक्टरमा धानखेती हुने गरेकोमा विविधि कारणले घटेको कृषि ज्ञान केन्द्र गौरले जनाएको छ । अघिल्लो वर्ष ३ दशमलव ३ मेट्रिक टन प्रतिहेक्टर धान उत्पादन हुने गरेकोमा विविध कारणले गर्दा २ दशमलव ९ मात्र उत्पादन भएको थियो ।