धनगढी । एक वर्षभित्र धनगढी उपमहानगरपालिकाभित्र साढे २७ किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य निर्धारण गरिएकोमा साढे एक वर्षमा १९ किलोमिटर मात्रै सडक कालोपत्र भएको पाइएको छ । सो अवधिसम्म १३ वडामा ९३ सडक कालोपत्र गरिएको भए पनि कालोपत्र सडकको लम्बाइ १९ दशमलव १५ किलोमिटर मात्रै देखिएको हो ।
कुल १९ वडा रहेको उपमहानगरपालिकाभित्र ६ वडामा भने यो अवधिसम्म सडक कालोपत्र गरिएको छैन । कालोपत्र गरिएका सडकको लम्बाइ ६/७ सय मिटर मात्रै छ । उपमहानगरको योजना शाखाका अनुसार ८ किलोमिटर सडक कालोपत्र गर्न नसक्दा ५ करोड बजेट खर्च हुन सकेको छैन । गतवर्ष नगर क्षेत्रका ११५ योजनाका लागि १३ करोड ८५ लाख छुट्याइएको थियो ।
स्थानीय उपभोक्ताको एक करोड ७६ लाख र उपमहानगरपालिकाको ७ करोड ६८ लाख गरी ९ करोड ४५ लाख खर्च गरेर १९ किलोमिटर सडक कालोपत्र गरिँदा ९३ योजना समेटिएका छन् ।
उपमहानगरपालिकाले नगर क्षेत्रमा ५० मिटरदेखि ६/७ सय मिटरसम्म कालोपत्रका योजना उपभोक्ता समिति र निर्माण व्यवसायी मार्फत कार्यान्वयन गराएको उपमहानगरका इन्जिनीयर द्विजराज भट्टले बताए ।