रौतहट । रौतहटका इँटा उद्योगमा माटोको अभाव हुन थालेपछि किसानको खेतबाट उद्योगले माटो किन्न थालेको छ । इँट्टा बनाउन बलियो र कमेरो माटोको आवश्यक पर्ने हुँदा यस्तो माटो खेतीयोग्य जमीनमा पाइने भएकाले उद्योग सञ्चालकले माटो किनेका हुन् ।
उद्योग सञ्चालकले किसानले खेती गर्दै आएको जमीन भाडामा लिएर माटो किनेका छन् । उद्योगलाई माटो विक्री गरेबापत किसानले नगद वा इँटा लिने गरेका छन् । खेतको सतह मिलाउन इँटा उद्योगलाई माटो विक्री गरेको किसान राम एकवाल साहले बताए । खेती अग्लो भएकाले जमीनको सतह मिलाउन ७ कट्ठा खेतको माटो विक्री गरेको उनले बताए ।
प्रतिकट्ठा वार्षिक १० हजार रुपैयाँका दरले जमीन भाडामा लिएर माटो किनेको राम जानकी इँटा उद्योग प्रालिका सञ्चालक मोहन साहले बताए । एउटा इँटा उद्योगलाई १२ बिघा जमीनको माटोले ५ वर्षसम्म पुग्ने उनको भनाइ छ । सम्झौता अनुसार उद्योग सञ्चालकले दुईदेखि चार फिटसम्म खन्न पाउने भएका छन् । रौतहट इँटा व्यवसायी संघका सचिव समेत रहेका साहले जिल्लामा १ सय ५६ ओटा इँटा उद्योग रहेको र उद्योगमा माटो अपुग रहेको बताए ।
तर, खेतीयोग्य जमीनको माटो इँटा उद्योगलाई विक्री गर्ने थालेपछि कृषि उब्जनी भने कम हुन थालेको छ । खेतको तल्लो सतहमा बालुवा निस्कने हुँदा कृषि उब्जनीमा समस्या हुने गरेको कृषि ज्ञान केन्द्र गौरका निमित प्रमुख रवीन्द्र कुमार श्रीवास्तवले बताए । खेतीयोग्य जमीन खण्डीकरण गरी विक्रि गर्ने तथा माटो इँटा उद्योगलाई दिने जस्ता कार्यले उर्बर शक्ति घट्दा उत्पादनमा ह्रास आएको उनको भनाइ छ ।
जिल्लाको कुल ३४ हजार हेक्टरमा धान खेती हुने गरेकोमा अहिले घटेको केन्द्रले जानकारी दिएका छ । केन्द्रका अनुसार अघिल्लो वर्ष ३ दशमलव ३ मेट्रिक टन प्रतिहेक्टर धान उत्पादन हुने गरेकोमा विविध कारणले गर्दा गत वर्ष प्रतिहेक्टर २ दशमलव ९ मेट्रिक टन मात्रै उत्पादन भएको थियो ।