वीरेन्द्रनगर । अग्र्यानिक उत्पादनको प्रवर्द्धन र संरक्षण गर्न कर्णाली प्रदेशस्तरीय प्राङ्गारिक कृषि उपज प्रदर्शनी मेला वीरेन्द्रनगरमा शुरू भएको छ । अग्र्यानिक प्रदेशका रूपमा चिनाउन र अग्र्यानिक उत्पादनमा बल पुर्याउन मेलाको आयोजना गरिएको जिल्ला सहकारी संघले बताएको छ ।
राष्ट्रिय सहकारी दिवसका अवसरमा जिल्ला सहकारी संघले तीनदिने अर्गानिक उत्पादनको प्रदर्शनी आयोजना गरेको हो । मेलामा कर्णालीका अग्र्यानिक उत्पादनको ५० ओटा स्टल राखिएको छ ।
‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ भन्ने मूल नारासहित ६२औं राष्ट्रिय सहकारी दिवस एवम् प्रथम कर्णाली प्रदेशस्तरीय प्राङ्गारिक कृषि उपज प्रदर्शनी मेलाले कर्णालीका किसानलाई अग्र्यानिक खाद्यवस्तु उत्पादनमा प्रेरणा मिल्ने आयोजकको भनाइ छ ।
प्रदेश सरकारले लिएको अग्र्यानिक प्रदेश घोषणा अभियान र अग्र्यानिक उत्पादनको महत्त्वका साथै बजार प्रवर्द्धनका लागि पनि मेला आयोजना गरिएको जिल्ला सहकारी संघ सुर्खेतको भनाइ छ । मेलामा प्रदेशभरिका किसानले आफूले उत्पादन गरेका अर्गानिक उपज प्रदर्शनीमा राखेका छन् ।
प्रदेश सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले कर्णालीको अग्र्यानिक उत्पादनलाई प्रोत्साहन र बजारीकरण गर्न पहिलो पटक प्रदेशस्तरीय प्रदर्शनी गरिएको बताइन् । छरिएर रहेको पूँजीलाई एकीकृत गरेर मात्र समाजको गरीबी अन्त्य हुने भन्दै मन्त्री केसीले सहकारी मार्फत ग्रामीण इलाकामा लगानी गर्नुपर्ने धारणा व्यक्त गरिन् । मेलामा उत्पादनका साथै बीउबिजनको विक्री र बालीको महत्त्वका बारेमा पनि जानकारी गराइनेछ । मेला शुक्रवारसम्म सञ्चालन हुने बताइएको छ ।