ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रदेश नं. १ का उद्योगपति भन्छन् "सरकारले लगानीकर्तालाई विश्वासमा लिन सकेन"

Apr 7, 2019  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशनी भट्टराई
विराटनगर । दुई तिहाईको सरकारले समेत लगानीकर्तालाई विश्वासमा लिन नसकेको उद्योगीहरूले आरोप लगाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, प्रदेश नम्बर १ को दोस्रो साधारणसभाको उद्घाटन समारोहमा उनीहरूले त्यस्तो आरोप लगाएका हुन् । उनीहरूले बैंकको चर्काे ब्याजदरका कारण समस्यामा परेका उद्योगका मागलाई सम्बोधन गर्दै सरकारले ब्याजदर घटाउने सहमति गरे पनि अहिलेसम्म कार्यान्वयन नगरेकोमा दुःख पनि व्यक्त गरे । उद्योगीहरूले सरकार र निजीक्षेत्रबीचको सम्बन्ध सुमधुर नभएकै कारण मुलुकको आर्थिक विकास हुन नसकेको पनि बताए । उनीहरूले भने, ‘सरकार र उद्योगीबीच विश्वासको अभाव भएका कारण नै सम्बन्ध सुमधुर हुन नसकेको हो ।’ सरकार र निजीक्षेत्रको सम्बन्ध बलियो नभएसम्म मुलुकले आर्थिक समृद्धि हासिल गर्न नसक्ने उनीहरूको भनाइ थियो । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ सल्लाहकार चण्डीराज ढकालले बैंकको ब्याजदर घटाउने सहमति गरे पनि सरकारले अहिलेसम्म सहमतिको पालना नगरेको बताए । सहमति कार्यान्वयन नगरेकै कारण सरकारसँगको निजी क्षेत्रको सम्बन्ध सुमधुर हुन नसकेको उनको भनाइ थियो । सरकारले गरेका सहमति सम्झौता नै कार्यान्वयन नभएपछि लगानीका लागि निजीक्षेत्र कसरी उत्साहित हुन्छ भनी उनले प्रश्नसमेत गरे । महासंघका उपाध्यक्ष किशोर प्रधानले आफ्नो क्षेत्रमा लगानीको वातावरण बनाउने जिम्मा प्रदेश सरकारको भएको बताए । उनले भने, ‘प्रदेशको समग्र विकासका लागि प्रदेश सुहाउँदो विशेष क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर त्यसलाई नै विशेष महत्व दिनु आवश्यक छ ।’ उनले निजीक्षेत्रका सबै काम प्रदेश सरकारबाटै हुने व्यवस्था मिलाउन पनि आग्रह गरे । देश संघीयता गइसकेको अवस्थामा अब सामान्य कामका लागि पनि राजधानी काठमाडौं जाने विगतको जस्तो बाध्यताको अन्त्य हुनुपर्नेमा जोड दिए । समारोहमा अधिकांश उद्योगीहरूले जनताको आर्थिक समृद्धिको चाहना परिपूर्तिका लागि आफ्नो क्षेत्रमा केको सम्भावना छ भनेर पहिचान गर्ने बेला आएको बताए । उनीहरूले कृषि, पर्यटन, ऊर्जामध्ये कुन क्षेत्रमा बढी सम्भावना छ भन्ने पहिचान गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा उद्योगीसमेत रहेका सांसद मोती दुगडले बजारमा पूँजीको अभावकै कारण नयाँ लगानी आउन नसकेको बताए । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, महासंघ प्रदेश–१ का अध्यक्ष नरेन्द्र खड्का, उपाध्यक्ष राजेन्द्र राउत लगायतले सबै प्रदेशले आर्थिक विकासको क्षेत्र पहिचान गरेर लगानी गर्नुपर्नेमा जोड दिए । प्रदेश १ मा लगानी सम्मेलनको तयारी प्रदेश–१ सरकारले अन्तरराष्ट्रिय लगानी सम्मेलन गर्नका लागि आन्तरिक तयारी थालेको छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ को दोस्रो साधारणसभालाई सम्बोधन गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले परिपक्व तयारी गरेर मात्रै सम्मेलन गरिने जानकारी दिए । उनले भने, ‘संघीय सरकारले भर्खरै गरेको लगानी सम्मेलन अलि तयारी नपुगेको हो कि जस्तो देखियो, हामी हतार नगरी परिपक्व र परिणाममुखी सम्मेलन गर्ने तयारीमा छौं ।’ संघीय सरकारले कानून नबनाइकनै लगानी सम्मेलन गरेकाले लगानीकर्ताहरू अन्योलमा परेको उनको भनाइ थियो । ‘सम्झौता भइसकेपछि धमाधम काम हुनुपर्नेमा हामीकहाँ सम्झौतापछि बल्ल कानून बनाउन शुरू हुन्छ । त्यसले लगानीकर्ता अन्योलमा पर्नुका साथै निराश हुने सम्भावना हुन्छ,’ उनले भने । सम्झौता भएको भोलिपल्टदेखि नै काम अघि बढाउने गरी प्रदेश १ सरकारले सम्मेलन गर्ने उनले स्पष्ट पारे । सम्मेलनमा प्रस्तुत हुने विषयबारे सम्बन्धित क्षेत्रका विज्ञहरूसँग गहन छलफल भइरहेको जानकारी दिँदै मुख्यमन्त्री राईले सम्मेलनमा मुख्यतः कृषि, पर्यटन र ऊर्जाका विषय उठान गरिने जानकारी दिए । प्रदेश नम्बर १ मा रहेका हिमाल आरोहीहरूको सम्मेलन पनि चाँडै नै गर्ने तयारी भइरहेको राईले बताए । सो सम्मेलनका लागि अवधारणापत्र तयार भइसकेको जानकारी दिँदै उनले भने, ‘यसका लागि आरोहीहरूको तथ्यांक संकलन गर्ने काम भइरहेको छ ।’ यस किसिमको सम्मेलनले विश्वमा नयाँ सन्देश जाने र त्यसबाट प्रदेशको पर्यटन विकासमा थप टेवा पुग्न उनको भनाइ थियो । उक्त सम्मेलनका लागि संघीय सरकारसँग पनि छलफल गरिने उनले बताए । कार्यक्रममा प्रदेश–१ का मुख्यमन्त्री राईले आवश्यक ऐन कानूनको अभावमा जनअपेक्षाअनुसार काम गर्न नसकेको स्वीकार गरे । एक वर्षको अवधिमा प्रदेश सरकारले पनि भौतिक संरचना, ऐन, कानून लगायत न्यूनतम आधार तयार गरेकाले अब विकासको गतिमा अगाडि बढ्ने उनको भनाइ थियो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)