ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

डोजर चालक र मजदुरलाई फूलमाला र अविर

Apr 8, 2019  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

चैत २५, म्याग्दी । कुनै निर्माण कम्पनि,ठेकेदार अथवा उपभोक्ता समितिले आफूले काममा खटाएका मजदुरहरुलाई काम सम्पन्न भएपछि कदरपत्र सहित सम्मान गरेको विरलै देख्न र सुन्न पाइन्छ । बरु यसको ठीक विपरित काम सम्पन्न भएपछि मजदुरहरुलाई ज्याला नदिएको,दुःख दिएको र मजदुरहरुले अनावश्यक सास्ती भोग्नु परेका प्रशस्तै उदाहरणहरु पाइन्छन् ।

तर, म्याग्दीमा भने निर्धारित् समयभन्दा अगाडीनै काम सम्पन्न गरेको भनेर काममा खटिएका मजदुर र कामका लागि प्रयोग गरिएको डोजरका चालकलाई फूलमाला र अविरले सम्मान गर्दै कदरपत्र प्रदान गरिएको छ । बेनी नगरपालिका ९ मा गलेश्वर–काउलेगौंडा–पात्लेखेत सडकखण्डका मजदुरलाई सोमवार एक कार्यक्रमका बीच सम्मान गरियो ।

योजना सम्पन्न गराउने समय सीमाभन्दा अगाडी नै गुणस्तरीय काम सम्पन्न गरेका मजदुरहरुलाई सडक निर्माण उपभोक्ता समितिले फूल,माला, अविर र कदरपत्रले सम्मान गरेर श्रमिकहरुप्रति पनि आदरभाव प्रकट गरेको छ । सडकमा मापदण्ड अनुसार काम गरेको भन्दै गलेश्वर–काउलेगौंडा–पात्लेखेत सडक निर्माण उपभोक्ता समितिले डोजर चालक सहित २५ जना मजदुरलाई सम्मान गरेको उपभोक्ता समितिका अध्यक्ष तेजेन्द्र बानियाँले बताए । अध्यक्ष बानियाँका अनुसार सडकमा बेल्चा,गैंचीमा रमाउने मजदुरलाई सम्मान गर्ने नयाँ संस्कारको शुरुवात गरिएको छ ।

‘सम्मान केवल ठूलाबडा र सुकिला मान्छेहरुलाई मात्र होइन,’ अध्यक्ष बानियाँले भने  ‘इमान्दारीका साथ आफ्नो जिम्मेवारी समयमा नै पुरा गर्ने र उत्कृष्ट काम गर्ने जो कसैलाई पनि गर्नुपर्छ भनेर श्रमिक सम्मान कार्यक्रम आयोजना गरेका हौं ।’ सम्मान कार्यक्रमका प्रमुख अतिथि अम्मर बस्नेतले युवाको नेतृत्वमा निर्धारित् समयावधि अगाडीनै सडक मर्मतको काम सम्पन्न हुनु सबैका लागि गतिलो सन्देश हो भने । उनले सडक विस्तारको क्रममा स्थानीयबासीको समस्यालाई समेत मध्यनजर गरी उपभोक्ता समितिले भत्किएको शौचालय बनाइदिएर थप उत्कृष्ट काम गरेको बताए ।

ट्रयाक मात्रै खोलिएको सडकको घुम्तीमा साँघुरो, भिरालो जमिनले निजी तथा सार्वजनिक सवारीसाधन आवतजावतमा सकस भइरहेको अवस्थामा बेनी नगरपालिकाको रू.१९ लाख ३० हजार र स्थानीय जनश्रमदान रू.३ लाख ६४ हजार ३३७ को लागतमा सडकको स्तरोन्नती गरिएको हो । नगरपालिकासंग गत माघ १२ गते भएको सम्झौता अनुसार उक्त सडकको स्तरोन्नतीको काम आगामी २०७६ साल बैशाख ३० गते सम्पन्न गर्नुपर्ने थियो ।

 नगरपालिका प्रमुख हरिकुमार श्रेष्ठसहितको टोलीले सडकको स्थलगत अनुगमन तथा प्राविधिकबाट मापदण्ड चेकजाँच गरिएको थियो । चेकजाँचका क्रममा सडक मापदण्ड अनुसारको सवै प्रक्रिया पूरा भएको बताइएको छ । उक्त सडक बेनीदेखि काउलेगौंडा हुदै बेनी नगरपालिका १० को पात्लेखेत जाने सर्वसाधारणले प्रयोग गर्ने गरेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)