ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मोदी–लेखनाथ प्रसारण लाइनको शिलान्यास : डेढ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य

Apr 9, 2019  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar रोशन तिवारी
पर्वत । पर्वतको मोदी गाउँपालिका–२ देउपुरदेखि कास्कीको पोखरा महानगरपालिकाको लेखनाथसम्म नयाँ मोदी–लेखनाथ प्रसारण लाइनको निर्माण कार्य शुरू भएको छ । रू. दुई अर्ब २५ करोडको लागतमा बन्न लागेको उक्त प्रसारण लाइनको राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले आइतवार शिलान्यास गरे । पर्वतको मोदीखोला तथा कास्कीका सेती नदी र मर्दीखोलामा बन्ने विद्युत् आयोजनाहरूबाट उत्पादित विद्युत्लाई पोखरास्थित सबस्टेशनबाट राष्ट्रिय प्रसारण लाइनमा जोड्ने उद्देश्यले नयाँ प्रसारण लाइनको निर्माण शुरू भएको हो । प्रसारण लाइनको लम्बाइ ४२ किलोमिटर हुनेछ भने त्यसमा १ सय ३८ ओटा टावर रहनेछन् । प्रसारण लाइनको निर्माण कार्य डेढ वर्षभित्र सक्ने लक्ष्य राखिएको नयाँ मोदी पोखरा प्रसारण लाइन आयोजनाका प्रमुख रोशन अग्रवालले बताए । प्रसारण लाइन निर्माणका लागि नेपाल सरकार र भारतको एक्जिम बैंकले लगानी गरेका छन् । आयोजनाका लागि जग्गा अधिग्रहण तथा वातावरणीय प्रभाव मूल्यांकन लगायतका काम सक्न पाँच वर्ष लागेको थियो । तर स्थानीय स्तरबाट सहयोग पाएमा तोकिएको डेढ वर्षभित्रै निर्माण पूरा गर्ने आयोजना प्रमुख अग्रवालले दाबी गरे । प्रसारण लाइन अन्तर्गत पर्वतको मोदी–२ देउपुर र कास्कीको माछापुच्छ«े गाउँपालिका लाहाचोकमा गरी दुई ओटा सबस्टेशन निर्माण हुनेछन् । देउपुरस्थित सबस्टेशनमा मोदीखोला र आसपासका नदीबाट उत्पादित विद्युत् जोडिने छन् भने लाहाचोक सबस्टेशनमा सेती नदी र मर्दीखोलाबाट उत्पादित विद्युत् जोडिने आयोजनाले बताएकोे छ । प्रसारण लाइन र सबस्टेशन निर्माणको जिम्मा भारतको कल्पयात्रु पावर ट्रान्समिशन लिमिटेडले लिएको छ । कम्पनीले नेपालका कोशी करिडोर लगायतका धेरै प्रसारण लाइन निर्माण गरेको सो कम्पनीका कन्ट्री डाइरेक्टर शिवशंकर सिंहले जानकारी दिए । प्रसारण लाइनको शिलान्यास गर्दै राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले राज्यको नीति नै आर्थिक समृद्धिको पक्षमा भएकोले समृद्धि हासिल गर्न ठूला–ठूला आयोजना निर्माण कार्य शुरू भएको बताए । उनले विकासका आयोजनाहरू समयमा सक्ने परिपाटी विकास गर्न सकिएमा मात्रै जनताले छिटो लाभ पाउने धारणा राखे ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)