धनगढी । बिसु अर्थात् नयाँ वर्ष २०७६ नजिकिँदै गर्दा सुदूरपश्चिमका नाकाहरू भएर घर फर्किने नेपालीको संख्या एक सातायता बढिरहेको छ । विशेष गरेर कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाटलगायत नाकाहरूबाट गरी दैनिक दुई हजारको संख्यामा नेपालीहरू घर फर्कने गरेको सम्बन्धित सीमा प्रहरी चौकीमा कार्यरत सुरक्षाकर्मीहरूले बताएका छन् । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा नयाँ वर्षलाई बिसु पर्वको रूपमा मनाउने चलन छ । सुदूरपश्चिम प्रदेशका मानिस मौसमी तथा बेमौसमी कामदारको रूपमा भारतका विभिन्न शहरमा जाने गर्छन् ।
बैतडीको सीमा नाका झुलाघाट भएर नेपाल फर्किनेको घुइँचो लागेको सीमा प्रहरीचौकी झुलाघाटले बताएको छ । उक्त प्रहरीचौकीका अनुसार झुलाघाट नाका भएर दैनिक चार सयभन्दा बढी श्रमिक नेपाल फर्किरहेका छन् । यस्तै कञ्चनपुरको गड्डाचौकी नाका हुँदै नेपाल फर्किनेको संख्या दैनिक एक हजारभन्दा बढी रहेको सीमा सुरक्षामा संलग्न अधिकारीहरूले बताए । बिसु मनाउन आएका बेला उनीहरू गहुँबालीसमेत भित्र्याउन भ्याउँछन् । अधिकांश स्थानीय खेतीपातीमा लाग्ने भएकाले दुईचार महिनाको लागि कामको खोजीमा भारत पस्ने गरेका छन् ।
बैतडी, बझाङ, बाजुरा, अछाम लगायतका जिल्लाका वासिन्दा बिसु मनाउन सुदूरकै पुरानो पहाडी नाका झुलाघाट भएर घर फर्कने गर्छन् । ती ठाउँका वासिन्दा गहुँ लगाएपछि तीन महिनादेखि छ महीनासम्मका लागि मजदुरी गर्न भारतीय शहरमा जान्छन् । बिसुका लागि भारतका विभिन्न शहरबाट घर फर्किनेको संख्या बढेसँगै सवारी साधनमा यात्रु चाप बढेको सुदूरपश्चिम बस व्यवसायी समिति धनगढीले बताएको छ ।