ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मौषमका कारण कफीको उत्पादन घट्यो

Apr 9, 2019  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी

चैत २६,पर्वत । पर्वतमा यो वर्ष १५ मेट्रिक टन कफी उत्पादन भएको छ । गत वर्षको तुलनामा उत्पादन घटेको छ ।

हिउँदको समयमा बेला बेलामा आएको मौषमको कारण उत्पादन घटेको कफी व्यवसायी संघ पर्वतले जानकारी दिएको छ । गत वर्ष करिव १७ मेट्रिक टन उत्पादन भएको थियो । पुस महीनाको अन्तिम सातादेखि फागुन दोस्रो हप्तासम्म असिनापानी आएर मौषम चिसो भएपछि कफी पुष्टिन नपाएर उत्पादन कम भएको हो । करीव एक मेट्रिक टन बोटबाट झरेर खेर गएको कफी व्यवसायी संघले जानकारी दिएको छ ।

जिल्लाभरि उत्पादन हुने कफीको संकलन, प्रशोधन र बजारीकरणमा कफी व्यवसायी संघले सघाउँदै आएको छ । यो वर्ष जिल्लाभरिको संकलन गर्दा रू.१ करोड २० लाख बराबरको तयारी कफी उत्पादन भएको संघका अध्यक्ष भवानीप्रसाद शर्माले जानकारी दिए । यसवर्ष २० मेट्रिक टन उत्पादन गर्ने लक्ष्य लिएको भएपनि मौषमले चुनौती दिँदा लक्ष्य पुरा नभएको शर्माले बताए । ‘मौषम राम्रो भएको भए पोहोर भन्दा राम्रो आम्दानी हुने अपेक्षा थियो,’ शर्माले भने ‘तर यो वर्ष मौषम चुनौती बन्यो ।’

जिल्लाभर २ हजार ५०० कृषकले कफी उत्पादन गर्दै आएका छन् । फ्रेस चेरी कफीको मूल्य अहिले रू. ५० देखि ६० छ । प्रशोधित कफीको मूल्य भने रू. ३५० भन्दा बढी छ । पर्वतमा दुई दशक देखि व्यावसायिक कफी खेती हुँदै आएको छ । कफीको व्यावसायिक विकासका लागि कृषककै सक्रियतामा १५ ओटा कफी सहकारी खोलेर बजार प्रवर्धनसमेत भइरहेको छ ।

सहकारीले कफी नर्सरी बनाएर बिरुवा उत्पादन तथा बिक्री गरी वार्षिक रू.१२ लाख भन्दा बढी आम्दानी गरिरहेको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ । केन्द्रका अनुसार जिल्लाको १ हजारदेखि १हजार ७ सय मिटरसम्मको उचाइमा व्यावसायिक रूपमा जैविक प्रविधिबाट समूहगत कफी खेती गरिँदै आएको छ । कफीको गुणस्तर कायम गर्न उचित छहारी, उपयुक्त माटो, जमिनको मोहडाका साथै प्रशोधन, भण्डारण र समूहगत ज्ञान सबैभन्दा महत्वपूर्ण हुने विज्ञहरु बताउँछन् ।

यहाँ उत्पादित् कफी जापान, कोरियालगायत युरोपेली मुलुकमा जाने गरेको छ । पर्वतका तिलाहार, ठूलीपोखरी, पकुवा, मुडिकुवा, कुर्घा, हुवास, त्रिवेणी, पाङराङ, पाङ लगायत तीन दर्जनभन्दा बढी स्थानमा कफीको व्यावसायिक उत्पादन भइरहेको छ । पर्वत लगायत धौलागिरी अञ्चलका बागलुङ र म्याग्दी जिल्लाका अधिकांश भागमा पनि कफी खेती राम्रो हुने कृषि प्राविधिकहरु बताउँछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)