ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निजी क्षेत्रलाई बाइपास गरे मुलुकको समृद्धि नहुने : उद्योगी

Apr 9, 2019  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशनी भट्टराई

चैत २६, विराटनगर । सरकारले निजी क्षेत्रलाई करको स्रोत मात्रै बनाएको भन्दै उद्योगी ब्यवसायीहरुले निजी क्षेत्रलाई बाइपास गरेर सरकार अगाडि बढे मुलुकको समृद्धि नहुने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १, उद्योग संगठन मोरङ र मोरङ व्यापार संघको संयुक्त आयोजनामा विराटनगरमा भएको ‘प्रादेशिक विकास बहस’ कार्यक्रममा सहभागि उद्योगी ब्यवसायीले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताएका छन् ।

उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालले निजी क्षेत्रलाई बाइपास गरेर सरकार अगाडि बढे मुलुकको समृद्धि नहुने बताए । निजी क्षेत्र पनि मुलुक निर्माणको एउटा पाटो हो भनेर सरकारले नबुझेसम्म विकासले गति लिन नसक्ने उनको भनाई छ । ‘निजी क्षेत्रलाई सरकारले बेवास्ता गरेकै कारण जति हुनुपर्ने थियो त्यति मुलुकको आर्थिक विकास नभएको हो’ ढकालले भने । निजी क्षेत्रको सहभागिता बिना देशको आर्थिक विकासको कल्पना पनि गर्न नसक्ने उनले दाबी गरे ।

‘सरकार र निजी क्षेत्र एउटै सिक्काका दुई पाटा हुन् भनेर बुझ्नु जरुरी छ’, ढकालले थपे ‘मुलुकको आर्थिक विकासमा निजी क्षेत्र जस्तोसुकै योगदान गर्न तयार छ ।’ कार्यक्रममा महासंघका उपाध्यक्ष किशोर प्रधानले पर्यटन, कृषि र ऊर्जाबाट मात्रै देशको विकास हुने बताए । उनले प्रदेश नम्बर १ मुलुकै सबैभन्दा बढी सम्भावना बोकेको प्रदेश भएको दाबी गरे ।

‘जोगबनी–किमाथांका सडकको ट्रयाक खोलेर मात्रै हुँदैन । यसलाई ४ लेनको बनाउनुपर्छ’, प्रधानले भने ‘त्यसपछि प्रदेश १ भारत र चाइनाको व्यापरिक हब बन्छ ।’ अर्का उपाध्यक्ष उमेशलाल श्रेष्ठले जंगबहादुरकै समयको मानसिकताबाट मुलुक गुज्रिरहेको बताए । उनले कर्मचारीको मानसिकता परिवर्तन हुनुपर्नेमा जोड दिए ।

महासंघका पूर्व वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले दुई तिहाईको सरकार गठन भएको एक वर्ष बितिसक्दा पनि आर्थिक सूचांकहरू निराशाजनक रहेको बताए । इतिहासमै सबैभन्दा बलियो सरकारले एक वर्षमा के कति काम गर्‍यो भनेर मूल्यांकन गर्ने बेला आएको उनको भनाइ छ । कार्यक्रममा प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सार्वजनिक खरीद ऐन संशोधन नभएसम्म विकासले गति लिन नसक्ने बताए । उनले पुराना संरचना र ऐनका कारण सरकारले काम गर्न नसकेको दाबी गरे । मन्त्री आङबोले पुरानै संरचना र मानसिकताका कारण जनअपेक्षाअनुसार काम गर्न नसकेको स्वीकारे ।

पुरानो संरचना र मानसिकता प्रदेशमा समेत सर्दै आएको उनको भनाइ थियो । सार्वजनिक खरीद ऐन संशोधन नगरेसम्म असारे विकास जारी रहने उनले बताए । असारे विकासकै कारण युवाहरू विदेश पलायन हुने गरेको मन्त्री आङ्बोले उल्लेख गरे । प्रदेश १ योजना आयोगका अध्यक्ष सुबोधराज प्याकुरेलले प्रदेश सरकारले जनमुखी योजना बनाइरहेको जनाए ।

महासंघका प्रदेश १ का कार्यबाहक अध्यक्ष राजेन्द्र राउत, उद्योग संगठनका अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडा, संघका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडा, उद्योगी महेश जाजु, टंक दुलाललगायतले दुई तिहाई बहुमतसहितको स्थायी सरकार बने पनि अझै लगानीमैत्री वातावरण बन्न नसकेको गुनासो गरेका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)