ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मजदूर र डोजर चालकलाई सम्मान

Apr 10, 2019  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा
म्याग्दी । कुनै निर्माण कम्पनी, ठेकेदार अथवा उपभोक्ता समितिले आफूले काममा खटाएका मजदूरलाई काम सकिएपछि कदरपत्रसहित सम्मान गरेको विरलै देख्न र सुन्न पाइन्छ । बरु यसको ठीक विपरित काम सकिएपछि ज्याला नदिई दुःख दिएको र मजदूरहरूले अनावश्यक सास्ती भोग्नु परेका प्रशस्तै उदाहरण पाइन्छन् । तर, म्याग्दीमा भने निर्धारित समयअघि नै काम सम्पन्न गरेकोमा मजदूर र कामका लागि प्रयोग गरिएको डोजरका चालकलाई कदरपत्र प्रदान गरी सम्मान गरिएको छ । सडकको स्तरोन्नतिको काम २०७६ वैशाख ३० गते सम्पन्न गर्नुपर्ने लक्ष्य थियो । बेनी नगरपालिका वडा नं ९ मा गलेश्वर–काउलेगौंडा–पात्लेखेत सडकखण्डमा कार्यरत मजदूरलाई सोमवार सम्मान गरिएको हो । तोकिएको समयअघि नै गुणस्तरीय काम सम्पन्न गरेका डोजर चालकसहित २५ जना मजदूरलाई सडक निर्माण उपभोक्ता समितिले फूलमाला र कदरपत्र प्रदान गरी सम्मान गरेको उपभोक्ता समितिका अध्यक्ष तेजेन्द्र बानियाँले बताए । उनले भने, ‘सम्मान केवल ठूलाबडा र सुकिला मान्छेको मात्र गरिने होइन, आफ्नो जिम्मेवारी इमानदारीसाथ समयमा नै पूरा गर्ने र उत्कृष्ट काम गर्ने जोसुकैलाई पनि गर्नुपर्छ भनेर हामीले श्रमिक सम्मान कार्यक्रम आयोजना गरेका हौं ।’ ट्रयाक मात्रै खोलिएको उक्त सडक खण्डको घुम्ती साँघुरो हुनुका साथै भिरालो जमीन भएका कारण सवारी साधन आवतजावत गर्न गाह्रो भइरहेको अवस्थामा बेनी नगरपालिकाको आर्थिक सहयोग र स्थानीय श्रमदानबाट सडकको स्तरोन्नति गरिएको हो । सो कार्यका लागि बेनी नगरपालिकाले रू. १९ लाख ३० हजार उपलब्ध गराउनुका साथै स्थानीय जनताले रू. ३ लाख ६४ हजार बराबरको श्रमदान गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि अम्मर बस्नेतले निर्धारित समयअघि नै स्तरोन्नतिको काम सम्पन्न हुनुले गतिलो सन्देश दिएको बताउँदै सडक विस्तारको क्रममा स्थानीयवासीको समस्यालाई ध्यानमा राखी उपभोक्ता समितिले भत्किएको शौचालय बनाइदिएर थप उत्कृष्ट काम गरेको बताए । सम्मान गर्नुअघि नगरपालिका प्रमुख हरिकुमार श्रेष्ठसहितको टोलीले सडक खण्डको स्थलगत अनुगमन तथा प्राविधिक चेकजाँच गरेको थियो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)