रौतहट । रौतहटका दलित महिलाको दैनिक जीवनमा लघुवित्त संस्थाले परिवर्तन ल्याएको छ । दलित महिला लघुवित्त संस्थामा आबद्ध भई उद्यम तथा व्यवसाय गर्ने थालेपछि आर्थिक स्तरमा सुधार आएको हो ।
उनीहरूले लघुवित्त संस्थाबाट ऋण लिएर बंगुर, भैंसी, बाख्रापालन तथा अन्य पसल व्यवसाय गरेका छन् । चन्द्रपुर नगरपालिकाको नयाँबस्तीमा रहेका अधिकांश महिला लघुवित्त संस्थामा आबद्ध छन् । सोही गाउँमा बस्ने उर्मिलादेवी हजरको लघुवित्तको सहयोग आर्थिक स्तर सुधार्न मद्दत मिलेको बताए । उनले अहिले पशुपालन गरेर एक पटकमा ८० हजारदेखि एक लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको बताइन् ।
नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको सन्तपुर शाखाबाट ऋण लिएर पशुपालन गरेकी उर्मिला अहिले काममा नै व्यस्त हुने गरेको बताउँछिन् । पशुपालन तथा अन्य व्यवसाय गरेदेखि मासिक ५ सय रुपैयाँ माइक्रोफाइनान्समा नै बचत गर्न थालेको उनको भनाइ छ । परिवारको सल्लाहमा लघुवित्त संस्थामा आबद्ध भएको र अहिले जीवनमा नै खुशी छाएको उनले बताइन् । उनीजस्तै गीता देवी पासवानले माइक्रोफाइनान्सबाट ६० हजार ऋण लिएर बाँसको सामग्री बनाउन थालेकी छिन् । उनले उनले मासिक १५ हजार रुपैयाँसम्म कमाउने गरेकी छिन् । ‘व्यवसाय गर्न जात होइन, साथ चाहिँदो रहेछ,’ उनले भनिन्, ‘लघुवित्तको साथले मेरो आर्थिक हैसियत उकासेको छ ।’ हाल नयाँबस्तीमा सयभन्दा बढी दलित महिला विभिन्न व्यवसायमा संग्लन छन् । सो बस्तीमा रहेका चमार, मुसहर लगायतका जातिले लघुवित्त संस्थाबाट ऋण लिएर व्यवसाय गरेका छन् । करीब ३ सय जना दलित महिला ग्राहक सदस्य रहेको नेशनल माइक्रोफाइनान्सको सन्तपुर शाखाले बताएको छ ।