रुकुम । पाठ्यपुस्तक खरीदको पैसा विद्यालयले पाउन सकेका छैनन् । स्थानीय तहहरूले पाठ्युस्तक खरीदका लागि समयमै विद्यालयलाई बजेट निकासा नगर्दा पाठ्यपुस्तक खरीदमा ढिलाइ भएको हो । नयाँ शैक्षिक सत्र २०७६ शुरू हुन लाग्दासम्म पाठ्यपुस्तक खरीदका लागि पैसा निकासा नहुँदा पाठ्यपुस्तक खरीदमा समस्या भएको विद्यालयहरूले जानकारी दिएका छन् ।
मुसिकोट नगरपालिका १३ स्थित श्रीमहेन्द्र मावि छिवाङका शिक्षक टेकबहादुर ओलीका अनुसार नगरपालिकाले रकम निकासा दिएपछि मात्र पाठ्यपुस्तक खरीद गर्न सम्भव छ । बालकल्याण निमाविका शिक्षक पविनकुमार खड्काले भने, ‘अब भर्ना अभियान शुरू हुन थाल्यो, तर पैसा निकासा नहुँदा किताब खरीदमा अन्योल बनेको छ ।’
गतवर्षहरूमा जिल्ला शिक्षा कार्यालयमार्फत समयमा पाठ्ययपुस्तक खरीदका लागि विद्यालयको खातामा पैसा जम्मा भए पनि यो वर्ष भने अझै पैसा जम्मा हुन सकेको छैन । स्थानीय तहले पाठ्यपुस्तक खरीदका लागि समयमा बजेट निकासा नगर्दा विद्यार्थीको हातमा समयमै पाठ्यपुस्तक नपुग्ने भएको हो ।
रुकुम (पूर्व) र पश्चिमका ९ ओटा स्थानीय तहमध्ये अझै दुईओटा गाउँपालिकामा रकम निकासा भएको छैन । पाठ्यपुस्तक खरीदका लागि फागुनको पहिलो साताभित्र विद्यालयको खातामा पैसा निकासा दिनुपर्ने भए पनि अझै खातामा पैसा जम्मा नभएको विद्यालयहरूको गुनासो छ ।
१/२ दिनभित्र सबै स्थानीय तहले विद्यालयको खातामा रकम जम्मा गर्ने जिल्ला शिक्षा विकास एकाइका प्रमुख लालबहादुर घर्तीले बताए । जिल्ला शिक्षा कार्यालय रुकुम पश्चिमका अनुसार रुकुम आधारभूतदेखि माध्यमिकसम्म रुकुमका पूर्व र पश्चिममा जम्मा ४ सय ४ ओटा विद्यालय छन् । यसमध्ये रुकुम (पूर्व) मा १ सय १६ र रुकुम (पश्चिम) मा २ सय ८८ ओटा विद्यालय छन् । माध्यमिक तहसम्म जम्मा ७० हजार ७ सय २७ विद्यार्थी छन् । गतवर्ष पाठ्यपुस्तक खरीदका लागि करीब २ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको थियो ।