ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रदेश अस्पताल : ११ बजेभन्दा पहिले लेट हुँदैन, २ बजेपछि भेट हुँदैन

Apr 12, 2019  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आकाश तारा बयक

चैत २९, सुर्खेत । कर्णाली प्रदेश अन्तर्गतको प्रदेश अस्पतालमा दिनप्रतिदिन बेथिती बढ्दै गएको छ । आर्थिक रुपले विपन्न वर्गका बिरामीहरु कम खर्चमा उपचार सम्भव हुने आशा र सरकारीमा राम्रो डाक्टरहरु हुने विश्वास लिएर सुर्खेतस्थित प्रदेश अस्पतालमा भर्ना हुन आउँछन् । तर प्रदेश अस्पतालमा उपचार गर्न आउने सर्वसाधारण यहाँको ढिलासुस्तीका कारण हैरानी खेप्न बाध्य छन् । प्रदेश अस्पतालमा ११ बजेभन्दा पहिले लेट (ढिलो) हुँदैन, २ बजेपछि डाक्टरसँग भेट हुँदैन ।

अस्पताल प्रशासनले सुधारका लागि धेरै प्रयास गरेपनि प्रभावकारी हुन नसकेको सेवाग्राही बताउँछन् । प्रदेश अस्पतालको नेतृत्व डा. डम्मर खड्काले सम्हालेपछि केही सुधारोन्मुख भएपनि सेवाग्राहीले सोचेजस्तो सेवा पाउन सकेका छैनन् । सामान्यदेखि गम्भीर बिरामीले पिसाब जाँच गर्न पनि चार घण्टा कुर्नुपर्छ । कतिपयको त पाँच दिनपछि बल्ल बल्ल पालो आउँछ ।

गम्भीर प्रकृतिका बिरामी एमआरआई र सिटी स्क्यान गर्न प्रदेश अस्पताल आउने गर्छन् भने निजी अस्पतालमा उपचार गर्न नसक्ने सर्वसाधारण प्रदेश लगायतका सरकारी अस्पताल धाउँछन् । तर निजी अस्पतालमा दुई–तीन दिनमा हुने काम प्रदेश अस्पतालमा एक साता कुर्नुपर्छ । महंगो शुल्कमा प्राइभेटमा उपचार गराउन नसकेर प्रदेश अस्पताल आएका बिरामीहरु सरकारी अस्पतालका डाक्टरको लापरवाहीका कारण सास्ती ब्यहोर्नु परेको बताउँछन् । अस्पतालमा भइरहेको ढिलासुस्तीले बिरामी स्वयमलाई थप जटिल बनाउने गरेको भुक्तभोगीहरु बताउँछन् । गम्भीर प्रकृतिका बिरामीले ल्याव टेस्ट गरेपछि पनि अन्य जाँच गराउन थप एक साता लाग्ने गरेको उनीहरुको गुनासो छ ।

प्रयोगशालामा बिहीवार पिसाब र रगत जाँचका लागि रुकुमको आठविस नगरपालिका–९, का राजवीर चन्दलाई १ घण्टामा आउने भनेपनि ४ घण्टा बितिसक्दा समेत रिपोर्ट नपाएपछि उनले ल्याबमा काम गर्नेहरुप्रति आक्रोश पोखे । आँखा समेत नदेख्ने चन्दले अन्त्यमा पिसाबको जाँच रिपोर्ट आउन ढिलाई भएपछि अस्पताल प्रयोगशालाको गेटमै धर्ना बसे । सबैले भनसुन गरेपछि प्रयोगशालाका कर्मचारीले उनलाई पिसाबको रिपोर्ट दिए ।

चन्द त एउटा प्रतिनिधिमूलक पात्र हुन् । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२, निवासी करिश्मा गुप्ताले प्रयोगशालाका कर्मचारीको लापरवाहीका कारण अस्पताल व्यवस्थापन पक्षकै बद्नाम भएको बताईन् । ‘हेर्दा सामान्य जस्तै लाग्ने कर्मचारीको साना–साना गल्तीका कारणले पुरा अस्पताल व्यवस्थापन पक्षकै बद्नाम हुन्छ,’ उनले भनिन, ‘कर्मचारीमा टीमवर्कको भावना नहुँदा प्रदेश अस्पतालको प्रयोगशालाबाट प्रवाह हुने सेवा अस्तव्यस्त भएको हो ।’ उनले सेवा प्रवाहमा लापरवाही र ढिलासुस्ती गर्ने कर्मचारीलाई अस्पताल प्रशासनले ठाउँका ठाउँ कारवाही गर्नुपर्ने औल्याईन् ।

पेट दुख्ने समस्याले दैलेखबाट प्रदेश अस्पतालमा उपचारका लागि सुर्खेत आएकी मनसरा शाही पाँच दिनदेखि आफन्तको घरमा बसिरहेकी छन् । ‘प्राइभेटमा महँगो हुने भएकोले सरकारी अस्पताल आएकी हुँ,’ उनले भनिन्, ‘यहाँ चेक गराउँदा एक साता लाग्ने रहेछ, सरकारी अस्पतालमा सुलभ हुन्छ भनेपनि धेरै दिन यहाँ बस्नु पर्दा खर्च उस्तै आउँछ ।’

काम गर्ने प्राविधिक थोरै र मेसिन कम हुने कारणले यहाँ आउने सबै बिरामीलाई छिटो जाँच गरेर रिपोर्ट दिन नसकिएको प्रयोगशालाका एक कर्मचारीले बताए । जाँचपछि पनि रिपोर्ट आउन किन ढिला भएको भन्ने प्रश्नमा उनले भने, ‘एउटा व्यक्तिको रिपोर्ट तयार गर्न कम्तीमा ४५ मिनेट लाग्छ र बिहानदेखि बेलुकीसम्म रिपोर्ट तयार गर्ने काम गर्दा पनि दिनको १५–१६जनाभन्दा बढीको रिपोर्ट तयार गर्न सकिँदैन ।’ उनले ढिला सुस्तीको समस्या हटाउन प्राविधिक जनशक्तिसँगै उपकरण थप गर्न आवश्यक रहेको बताए ।

नाम नबताउने शर्तमा अस्पतालका एक कर्मचारीले भने, ‘यहाँ कार्यरत सबै स्थायी डाक्टरलाई निजी क्लिनिक धाउँदैमा फुर्सद छैन । केही थान करार डाक्टरहरुको भरमा अस्पताल चलिरहेको छ ।’ कार्यरत डाक्टरहरुले नियमित रुपमा जाँच नगरिदिएका कारण बिरामीहरुले लामो समय कुर्नुपरेको समयमा उपचार नपाएको उनले बताए । स्थायी डाक्टरहरु तोकिएको समयावधिभित्र अस्पतालमा नबस्ने प्रवृत्ति रहेको सम्बद्ध स्रोत बताउँछन् । बिहान ११ बजे फुर्सदिलो पारामा अस्पताल आएका डाक्टरहरु २ बजेपछि बाहिरिने गरेको स्रोतको भनाइ छ ।

यता अस्पतालका मेडिकल रेकर्डर अधिकृत विनोद बस्नेतले अस्पतालको प्रयोगशाला सुधारोन्मुख रहेको दाबी गरे । उनले प्रयोगशालाबाट स्तरीय सेवा प्रवाह भईरहेको भएपनि कर्मचारी व्यवस्थापनमा कहीं कतै कमजोरी रहेको भए तुरुन्तै सुधार गरिने जानकारी दिए ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेश अस्पताललाई एकवर्ष भित्रै अत्याधुनिक सेवा सुविधासहितको नमूना अस्पताल बनाउने योजना अंगिकार गरेको छ । अस्पताललाई ३०० शय्याको बनाउनका लागि अहिले भौतिक संरचना निर्माणको काम धमाधम चलिरहेका छन् । तर संरचना निर्माणका साथै अस्पतालका कर्मचारी र डाक्टर नसुध्रिएसम्म उपचारका लागि अस्पताल आउने सर्वसाधारणले सर्वसुलभ सेवा पाउने आशा गर्न देखिदैन ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)