धनगढी । धनगढी उपमहानगरपालिकाभित्र ४२ किलोमिटर सडक निर्माणका लागि छुट्याइएको बजेटबाट १० किमी मात्रै निर्माण गर्ने गरी तयारी थालिएको छ । बजेट थोरै भएको बताउँदै उपमहानगरले कम सडक बनाउन लागेको हो ।
४२ किमीका लागि रू. १ अर्ब २६ करोड बजेट छुट्याइएको थियो । उपमहानगरले क्षेत्रीय शहरी विकास आयोजनासँग समन्वय गरी सडकका योजना अघि बढाउन लागेको नगरप्रमुख नृपबहादुर वडले बताए । आयोजनाले सुदूरपश्चिमका चार नगरलाई आधुनिक शहरको रूपमा विकास गर्न एशियाली विकास बैंक (एडीबी) को सहुलियत ऋण लगानीमा एक वर्षअघि बजेट बाँडफाँट गरेको थियो ।
उक्त बजेटबाट पाँचओटा शाखा सडक निर्माण हुने भएको छ । उपमहागरले सडक निर्माणका लागि टेण्डर निकाल्ने तयारी थालेको छ । पहिलो चरणमा निर्माण हुने सडकभित्र ७७ स्थायी संरचनाहरू परेका छन् ।
नगरवासीले सडक बनाउन सहमति व्यक्त गरेकोले सडकभित्र पर्ने भौतिक संरचना हटाउन उपमहानगरले आग्रहसमेत गरेको छ । बाँकी सडक निर्माणका लागि दोस्रो चरणमा बजेट व्यवस्था गर्ने आयोजनाका उप–व्यवस्थापक श्यामचन्द्र बुढाथोकीले बताए ।
उपमहानगरले सडक बनाउनुअघि एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र टुंगो लगाउनुपर्ने एडीबीको शर्त समेत पालना गरेको छैन । उपमहानगरलाई आधुनिक शहर विकासका लागि ३ अर्ब १९ करोड बजेट विनियोजन गरिएको छ । १ अर्ब २६ करोडमा सडक, ६० करोडमा एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र, फोहोर प्रशोधन केन्द्रका लागि ४५ करोड र जग्गा खरीदका लागि ३० करोड रुपैयाँ बजेट छुट्याइएको छ ।