ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

३०० मीटर उचाईको नारच्याङ झरना, पर्यटक एकपटक पुगेर मात्रै फर्किन्छन्

Apr 17, 2019  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

वैशाख ४, म्याग्दी । पहाडको टुप्पोबाट कलकल गर्दै झर्ने निकै सुन्दर, आकर्षक र मनमोहक झरना पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरुको रोजाइमा पर्न थालेको छ । बेनी–जोमसोम मोटरबाटो (कालीगण्डकी करिडोर) अन्तर्गत कालीगण्डकी नदीको पारीपट्टी उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा पर्यटकलाई लोभ्याइरहने नारच्याङ झरना कुमारी झरनाको रुपमा परिचित छ ।

समुन्द्री सतहबाट १ हजार ४०० मिटरदेखि १ हजार ७०० मिटरको उचाइमा नारच्याङ झरना रहेको छ । झरनाको मात्रै उचाई ३०० मिटरभन्दा बढी छ । मानव बसोबासभन्दा पहिलेदेखि नै यस ठाउँमा झरना रहेको नारच्याङवासीको अनुमान छ । नारच्याङ झरनामा म्याग्दीसहित देशका विभिन्न स्थानबाट आन्तरिक पर्यटकहरु पुग्ने गरेका छन् । नारच्याङमा स्थानीय आमा समूहको भवनमा बास बसेका विदेशी पर्यटक पनि एकपटक झरनामा पुगेर मात्रै फर्किने गरेका छन् ।

पछिल्लो समय झरनालाई पृष्ठभूमीमा पारेर सेल्फी खिच्नकै लागि भए पनि पर्यटकहरु नारच्याङ झरनामा जाने गरेका छन् । झरनामा पुगेर आसपासका ठाउँमा साइटसिनको मज्जा लिन सकिन्छ । वनभोजका लागि पनि मानिसहरु नारच्याङ झरनामा जाने गरेका छन् ।

नारच्याङ झरनाले गाउँको सुन्दरता बढाउनुका साथै गर्मीयामको समयमा सितलता समेत प्रदान गर्ने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) नारच्याङका अध्यक्ष तेजबहादुर गुरुङले बताए । उनका अनुसार झरनाको पानीबाट गाउँमा खानेपानीको आपूर्ति, सिँचाई गरिनुका साथै खोलामा माछा मार्ने गरिएको छ ।

नारच्याङ झरनाभन्दा माथि मानवबस्ती नभएको हुँदा झरना सफा र सुन्दर देखिन्छ भने झरनाको तल फेदीमा भुमेथानको मन्दिर रहेको छ । झरनाको सुन्दरतासँगै भुमेथानको मन्दिरले आकर्षण थपेको छ । हरेक वर्षको जेठ/असार महीनामा पूजाआज हुँदै आइरहेको उक्त मन्दिरमा भाकल तथा पूजा गरेमा मनले आँटे, ताकेको र चिताएको काम बन्ने जनविश्वास रहिआएको छ । झरना र मन्दिर जानका लागि त्यहाँसम्म पुग्न क्लबको पहलमा गोरेटो बाटो बनाइएको अन्नपूर्ण युवा क्लब नारच्याङका अध्यक्ष श्याम पूर्जाले बताए ।

पछिल्लो समय पर्यटकीयस्थलका रुपमा चिनिएको नारच्याङ झरनाको विकास र प्रवर्द्धन गर्नका लागि योजना बनाएर अगाडि बढिने नारच्याङका वडा अध्यक्ष चन्द्रप्रसाद फगामीले जानकारी दिए । झरनासम्म पुग्न पक्की पदमार्ग निर्माण गरिने, रेलिङ हालिने र व्यवस्थित सिँढीहरु बनाइने उनले बताए । म्याग्दी सदरमुकाम बेनीबजारबाट ३ घण्टाको यात्रामा सवारीसाधनमार्फत नारच्याङ झरनामा पुग्न सकिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)