ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

काम छोडेर जनप्रतिनिधि र कर्मचारी भ्रमणमा

Apr 18, 2019  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रवीर ददेल
रुकुम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी भ्रमणमा निस्किएपछि सेवाग्राही मर्कामा परेका छन् । कार्यालयका १८ जना सबै सेवा ठप्प पारेर भ्रमणमा निस्किएका हुन् । चैत ३० गते भ्रमणमा निस्केको गाउँपालिकाको टोली मंगलवार बेलुकासम्म पनि फर्किएको छैन । गाउँपालिकाका अध्यक्ष नरबहादुर पुन, उपाध्यक्ष इन्दिरा ओली, प्रमुख प्रशासकीय अधिकृत कुमारी रीमा मल्लसहित १८ जना जनप्रतिनिधि तथा कर्मचारी पूर्वी नेपालसँगै भारतको दार्जलिङ भ्रमणमा निस्केका छन् । जनप्रतिनिधि तथा कर्मचारी मात्र होइन, उनीहरूका छोराछोरी, श्रीमान्श्रीमती पनि गाउँपालिकाको खर्चमा भ्रमणमा छन् । सेवाग्राहीको गुनासो आएपछि मंगलवार जिल्ला समन्वय समिति (जिसस) र जिल्ला प्रशासन कार्यालयले गाउँपालिका कार्यालयको अनुगमन गरेको थियो । अनुगमनको क्रममा गाउँपालिका कार्यालयका कर्मचारी र जनप्रतिनिधिहरूको ठूलो समूह भ्रमणमा निस्किएको भेटिएको जिसस प्रमुख राजकुमार शर्माले बताए । ‘गाउँपालिका नै खाली गरेर भ्रमणमा निस्किएको पाइयो, गाउँपालिकाको सेवा प्रवाह केही दिनदेखि ठप्प नै रहेछ,’ शर्माले भने, ‘ठूलो संख्यामा कर्मचारी र जनप्रतिनिधि भ्रमणमा निस्किँदा निर्णय र कुनै जानकारी नराखेको पाइयो ।’ प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले गाउँपालिकामा यो वर्षको हाजिरी रजिस्टर समेत नभेटिएको बताए । उनले गाउँपालिकाको अघिल्लो वर्षको हाजिरी रजिस्टर भेट्टाएर जिल्लामा ल्याएको बताएका छन् । उनले भने, ‘जनप्रतिनिधिले आफू कतै जाँदा अर्को व्यक्तिलाई निमित्त तथा कार्यवाहक तोक्नुपर्ने भए पनि कसैलाई पनि लिखित रूपमा जिम्मेवारी नतोकिँदा सेवा प्रवाहमा समस्या भएको छ ।’ समस्यामा सेवाग्राही गाउँपालिका नै रित्तो बनाएर जनप्रतिनिधि र कर्मचारी भ्रमणमा निस्किएपछि सेवाग्राही मर्कामा परेका छन् । बुढेसकालमा सकिनसकी दुई अपांग नातिनातिनालाई बोकेर गाउँपालिका पुगेकी सानीभेरी–३ की लीला गुरुङले सेवा पाउन सकिनन् । उनी आफ्ना दुई नातिनातिनाको अपांगता परिचय पत्र बनाउन गाउँपालिका कार्यालयमा पुगेकी थिइन् । उनी जस्तै गाउँपालिकामा सेवा लिन आउनेहरू सबै रित्तो हात घर फर्किन बाध्य छन् । यसका साथै नियमित सेवा प्रवाहसहित हरेक महीनाको ३ गते हुने अपांगता परिचयपत्र वितरण हुन सकेको छैन । भ्रमणकै कारण चैत मसान्तसम्म प्रकाशन भइसक्नुपर्ने कक्षा ८ को नतीजा अझै पनि सार्वजनिक भएको छैन, जसका कारण भर्ना अभियान शुरू हुन सकेको छैन ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)