रौतहट । रौतहटमा रहेका विभिन्न सामुदायिक वनमा दुर्लभ प्रजातिका वन्यजन्तु बसोबास गर्न थालेका छन् । राष्ट्रिय वन विनाश र आगलागीका घटना हुन थालेपछि वन्यजन्तुले सामुदायिक वनलाई सुरक्षित आश्रय स्थल बनाएका छन् ।
सामुदायिक वनको घनाजंगल र चारकोशे झाडीमा प्रशस्त मात्रामा वन्यजन्तुहरू पाइने गरेको छ । चन्द्रपुर–४ स्थित रहेको जनचाहना सामुदायिक वनमा दुर्लभ जातका वन्यजन्तु तथा पशुपक्षी पाइने गरेको हो । उक्त सामुदायिक वनमा चितुवा, बाघ, गैंडा, हात्ती, बँदेल, हरिण, मृग तथा नीलगाई लगायतका वन्यजन्तु पाइने गरेको छ ।
२०३६ सालअघि प्रशस्त भेटिने वन्यजन्तु पछिल्लो समयमा वन विनाशले गर्दा लोप हुँदै गएको स्थानीय वृद्ध देवीप्रसाद न्यौपानेले बताए । करीब ४० वर्षपछि वनमा चितुवा, बाघ लगायतको वन्यजन्तु देख्न पाउँदा खुशी लागेको उनको भनाइ छ । केही दिनअघि उक्त सामुदायिक वनमा उपभोक्ताहरूले दुईओटा चितुवाको बच्चा फेला परेका थिए ।
वनमा पटकपटक चितुवाका बच्चा देखापरेको र बाघ पनि समयसमयमा देखा पर्ने गरेको सामुदायिक वनका उपभोक्ताहरूको भनाइ छ । २०५२ मा स्थापना भएको सामुदायिक वन संरक्षण गर्दै घना जंगल र चारकोसे झाडीमा परिणत भएपछि वन्यजन्तुले आश्रय स्थल बनाएको उक्त सामुदायिक वनका अध्यक्ष भूमिलाल न्यौपानेले बताए । वन्यजन्तु देखा पर्न थालेपछि सामुदायिक वन प्रवेशमा कडाइ गर्नुका साथै तारले घेराबार लगाइएको उनले बताए । चादी नदीको किनारमा सामुदायिक वन रहेकाले वन्यजन्तु देखापर्नु स्वाभाविक भएको बताउँदै यसको संरक्षणमा जुटेको उनको भनाइ छ ।
चितवन राष्ट्रिय निकुञ्ज तथा पर्सा वन्यजन्तु आरक्षबाट यस सामुदायिक वनमा विभिन्न प्रजातिका जनावरहरू आउने गरेको अध्यक्ष न्यौपानेले जानकारी दिए । विभिन्न प्रजातिका चराचुरुंगी पाइने गरेकाले उक्त स्थानमा शिकारीलाई प्रवेश गर्न नदिन चौकीदार समेत खटाइएको उनले बताए । वन्यजन्तु अवलोकनका लागि पर्यटक आउने हुनाले पर्यटन विकासका लागि दिगो कार्ययोजनासहित स्थानीय तथा प्रदेश सरकार अघि बढ्नु जरुरी देखिएको छ ।