पर्वत । जिल्लाको फलेवास नगरपालिका–३, शंकरपोखरी र वडा नं. २ थापाठानाका कृषकहरूले सुन्तलाको खेती विस्तार गरेका छन् । यो दुई गाउँका बासिन्दाले दुई हजार सुन्तलाका बोट यस वर्ष थप गरेका छन् । परम्परागत खेती गर्दै आएका कृषकहरू व्यावसायिक बन्ने प्रयासमा छन् ।
अन्नपूर्ण व्यावसायिक सुन्तला उत्पादन समूहमा आबद्ध भएका करीब ४ सय परिवारले सुन्तला फलाउँदै आएका छन् । खाइखेती प्रविधिमा आधारित सुन्तला अहिले पनि करीब १० टन उत्पादन हु“दै आएको छ । गाउँलेहरू सुन्तला खेती विस्तारका लागि सरकारको अनुदान पर्खिरहेका छन् । ‘हामीले पकेट क्षेत्र बनाउने सोच बनाएका छौं,’ अन्नपूर्ण सुन्तला उत्पादन समूहका अध्यक्ष गणेशबहादुर थापाले भने, ‘खेती विस्तारका लागि सरकारी सहयोग माग्न पकेट क्षेत्र बनाउनुपर्ने रहेछ ।’
पकेट क्षेत्र घोषणाका लागि सम्बन्धित निकायमा घच्घच्याउने अध्यक्ष गणेबहादुर थापाले बताए । सुन्तला खेती विस्तार गरे पनि कृषि प्राविधिकहरूको कुनै परामर्श र अनुदान नपाएको स्थानीय कृषकहरूले बताएका छन् । ‘अहिलेसम्म सरकारी अनुदान कस्तो हुन्छ देख्न पाएका छैनौं,’ कृषक बाटुली क्षत्रीले भनिन्, ‘हामी हाम्रै बलवुताले यत्तिको खेती गर्न सकेका छौं । अब यसलाई बढाउने सोचमा छौं ।’ अबको ५ वर्षमा सय टन उत्पादन गर्ने लक्ष्य लिएर अघि बढेको क्षत्रीले बताइन् ।
हिमाल तिर फर्केको मोहडा र पारिलो घाम लाग्ने भएकाले यस क्षेत्रका सुन्तला स्वादिलो र रसले भरिलो हुने उपभोक्ताहरूले बताउने गरेका छन् । कृषकहरूले मकै, धान र कोदोखेती मासेर सुन्तला लगाउँदै आएका छन् । विगत तीन वर्षदेखि यहाँका कृषकहरूले सुन्तला खेती गर्ने लहर चलाएका हुन् ।