रुकुम । सिस्ने गाउँपालिका–३, पोखराका ओमप्रकाश खड्कालाई पैसा कमाउन न त विदेश जानु प¥यो, न त शहर नै । उनले घरमै बसी बसी वार्षिक साढे ९ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । उनले एकै (कात्तिके मह) सिजनमा २५० धार्नी मह विक्री गरेर रू. ५ लाख ५० हजार रुपैयाँ कमाएको बताए । रुकुमको बजारमा प्रतिधार्नी २ हजार रुपैयाँमा मह विक्री वितरण हुने गरेको छ ।
सिस्ने–३, पोखराकै कमलाल खड्का मौरीपालन व्यवसायमा १० वर्षदेखि आबद्ध छन् । उनले मह बेचरै वार्षिक ७ लाख रुपैयाँसम्म कमाउने गरेका छन् । उनले एकै सिजनमा २ सय धार्नी मह विक्री गरेर ४ लाख रुपैयाँ कमाएको बताए ।
त्यस्तै, पोखरा गाउँकै डिलबहादुर खड्काले मह बेचर वार्षिक रू. ६ लाख रुपैयाँ कमाउने गरेका छन् । यसै गाउँका भागीदल खड्का र लालबहादुर खड्का पनि व्यवसायीका रूपमा मौरीपालन व्यवसायमा आबद्ध छन् । उनीहरूले मौरीपालन व्यवसायबाट वार्षिक २ लाख ५० हजार रुपैयाँदेखि साढे ४ लाख रुपैयाँसम्म आम्दानी गरेको बताएका छन् ।
ओमप्रकाशसँग १ सय ११ घार मौरी छन् । कमलालसँग ८० घार, भागिदल खड्कासँग ४० घार र डिलबहादुर खड्कासँग ३५ घार मौरी रहेको बताएका छन् । पोखरा गाउँका धेरै किसानले मह बेचेरै राम्रो कमाइ गरिरहेका छन् । साबिकको पोखरा गाविसका १ र ४ वडा १ सय ३७ घरमा मौरीका घार रहेका छन् ।
यस गाउँमा सबैका घरमा मौरी रहेको र यसबाट राम्रो आम्दानी गरेको ओमप्रकाश खड्काले बताए । उनले भने, ‘पोखराका सबै घरमा मौरी छन्, पछिल्लो समय यस गाउँलाई मौरीपाल्ने गाउँले चिनिन थालेको छ ।’ यस सिजनमा मौरीले राम्रो मह बनाएको व्यवसायीले बताएका छन् । कात्तिके सिजनमा मात्रै गाउँबाट झण्डै ४५ लाख रुपैयाँ बराबरको मह विक्री भएको कमलाल खड्काले बताए ।
उनका अनुसार कात्तिके सिजनमा झण्डै ६ हजार ५ सय २५ किलोग्राम मह विक्री भएको अनुमान व्यवसायीहरूले गरेका छन् । रुकुमको बजारमा प्रति किलोग्राम रु. ८ सय रुपैयाँ मह खरीद विक्री भइरहेको छ । एक घार मात्रै मौरी भएकाले पनि यस सिजनमा ५ देखि ८ धार्नीसम्म मह विक्री गरेको भागिदल खड्काले बताए ।
किसानसँग अझै पनि विक्रीका लागि मह बाँकी छ । असोज पहिलो सातादेखि पुसको अन्तिमसम्म निकालिएको कात्तिके सिजनको मह बढी खोजिन्छ । पोखरामा हरेक वर्ष व्यावसायिक मौरी पालन गर्नेहरू बढिरहेका छन् । मौरीका पुराना र व्यावसायिक किसान ओमप्रकाश खड्का हुन् । उनीले शुरू गरेको व्यवसाय अहिले गाउँभरि फैलिएको छ । मह विक्री गरेर राम्रो आम्दानी गर्नेमा ओमप्रकाश अग्रस्थानमा छन् । यहाँका किसानहरूले मुढे, खोपे र आधुनिक घारमा मौरी पालिरहेका छन् । यस क्षेत्रमा सेरना जातको मौरी पाल्ने गरिन्छ ।
यो मौरीले एउटा घारबाट एक सिजनमै ७ धार्नी मह उत्पादन गर्ने गर्दछ । घारबाट ५० प्रतिशत मात्र मह काढ्ने गरिन्छ । चरन अभावका बेला मौरीले त्यही मह आहाराको रूपमा प्रयोग गर्ने गरेको छ । मौरीका लागि उपयुक्त मानिएको पोखरा मौरी पकेट क्षेत्रसमेत हो । गत सिजनमा सिस्ने गाउँपालिकाले किसानलाई मौरीसमेत वितरण गरेको थियो । गाउँपालिकाले मौरी वितरण गरेपछि व्यावसायिक मौरी पाल्नेको संख्या बढेको उनीहरूको भनाइ रहेको छ ।