रुकुम । रुकुम पूर्वको लुकुम गाउँलाई ‘स्मार्ट कृषिगाउँ’ बनाइने भएको छ । भूमे गाउँपालिका–१ लुकुम गाउँमा कृषि र पशुपालनलाई व्यवस्थित र आधुनिकीकरण गरी स्मार्ट कृषिगाउँ बनाउन लागिएको हो ।
प्रदेश नं ५ सरकारले त्यसका लागि बजेट समेत विनियोजन गरेको छ । स्थानीयसँगको साझेदारीमा लुकुमलाई स्मार्ट कृषिगाउँ बनाउने प्रक्रिया थालिएको स्थानीय कस्तुरी नेपालीले जानकारी दिएकी छिन् । परम्परागत रूपमा भइरहेको कृषि प्रणालीको सुधारका लागि प्रदेश सरकारको सहयोगमा स्मार्ट कृषिगाउँ कार्यक्रम कार्यान्वयन गर्न लागिएको भुमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढाले बताए ।
स्मार्ट कृषिगाउँ बनाउन प्रदेश सरकारले बजेट तथा प्राविधिकको व्यवस्था गर्नेछ भने स्थानीयले पनि योगदान दिने कार्यविधिमा उल्लेख छ । उक्त प्रयोजनका लागि सरकारले चालू आवमा ५० लाख बजेट विनियोजन गरेको छ । उक्त बजेटको २० प्रतिशत स्थानीय किसानले योगदान गर्नुपर्नेछ ।
प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको ‘एक निर्वाचन क्षेत्र, एक स्मार्ट कृषिगाउँ’ कार्यक्रमअन्तर्गत लुकुममा व्यावसायिक भेडापालन गर्न लागिएको प्रदेशसभा सदस्य तेजबहादुर ओलीले जानकारी दिए । आधुनिक कृषि प्रणालीलाई उपयोग गर्नेगरी कार्यक्रमको अवधारणा अघि सारिएको उनको भनाइ छ ।
कार्यक्रममार्फत धेरैभन्दा धेरै सर्वसाधारणलाई व्यावसायिक बनाउने लक्ष्य राखिएको छ । कृषिमा व्यावसायिकता विकास र यन्त्रिकीकरण नहुँदा कृषिबाट जीवन निर्वाह गर्न नै कठिन भइरहेको अवस्थामा यसलाई तोड्नेगरी कार्यक्रम अघि बढाइएको बताएको छ