ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सामुदायिक लज ‘टोड्के हिल रिसोर्ट’ सञ्चालन, ३३ जनाको ३ करोड लगानी

May 12, 2019  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

वैशाख २९, म्याग्दी । ३ करोड रुपैयाँको लगानीमा निर्माण भएको सामुदायिक लज ‘टोड्के हिल रिसोर्ट’ औपचारिक रुपमा सञ्चालनमा आएको छ । उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका, पश्चिमको मंगला गाउँपालिका र बेनी नगरपालिकाको संगमस्थलमा पर्ने पर्यटकीय क्षेत्र टोड्केमा निर्माण सामुदायिक लगानीमा निर्माण गरिएको रिसोर्टको शनिवार ९० वर्षीय जेष्ठ नागरिक कमी गर्बुजाबाट औपचारिक उद्घाटन गरिएको हो ।

९ जना संस्थापकसहित ३३ जनाले लजमा लगानी गरेका छन् । रिसोर्टमा पूर्व झीँवासी, टोड्के, पूर्णगाउँ र डडुवाका स्थानीयवासीका साथै अमेरिका, जापान, हङकङलगायतका देशमा रहेका नेपालीहरुबाट पनि शेयर लगानी भएको छ । लजमा एक व्यक्ति बराबर न्यूनतम १ लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म लगानी छ । गत वर्षको जेठदेखि रिसोर्टका लागि आवश्यक संरचना निर्माणको कार्य थालनी गरिएको थियो ।

आन्तरिक पर्यटकलाई लक्षित गरी बनाइएको आधुनिक सुविधासम्पन्न रिसोर्टमा एट्याच बाथरुमसहित १० ओटा कोठा, दुई ओटा बैठक कक्ष, डाइनिङ हल, सभाहल, रेस्टुराँ बार, १० ओटा टेन्ट हाउससहित करीब १०० जनाको क्षमता रहेको छ ।

म्याग्दी सदरमुकाम बेनीदेखि सवारीसाधनमार्फत डेढ घण्टाको यात्रापछि पुग्न सकिने आकर्षक गन्तव्य टोड्केबाट धौलागिरी, अन्नपूर्ण, निलगिरी, माछापुच्छ्रे, मानापाथीलगायत दर्जनौं मनोरम हिमशृंखलाहरु देखिन्छन् । टोड्केबाट बागलुङ र पर्वत जिल्लाको डाँडाकाँडाहरु समेत देखिन्छ । समुद्री सतहदेखि करीब २ हजार ५०० मिटरको उचाइमा अवस्थित टोड्केमा माघ फागुनमा ढकमक्क फुल्ने लालीगुँरासले पर्यटकलाई लोभ्याउने गर्दछ ।

रिसोर्टको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले पर्यटकीय क्षेत्रमा रिसोर्ट निर्माणसँगै जिल्लामा भित्रिने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई सहयोग पुग्ने बताए । उनले आर्थिक विकास र रोजगारी सृजनाका लागि कृषि, जलविद्युत र पर्यटनमा लगानीको आवश्यकता रहेकोमा जोड दिँदै सामूहिक लगानीमा निर्माण गरी सञ्चालनमा ल्याइएको रिसोर्टलाई आगामी दिनमा दीगो रुपमा अगाडि बढाउन सबै मिलेर सहयोग गर्नुपर्ने बताए ।

बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी र मंगलाका उपाध्यक्ष सिर्जना केसीले पर्यटकीय क्षेत्रमा निर्माण गरिएको लजको सुरक्षाका साथै स्थानीय उत्पादनको प्रवर्द्धन तथा सडक संरचनाको स्तरोन्नतिलगायत विकासका पूर्वाधारहरुको निर्माणमा जोड दिइने बताए । प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले पर्यटन क्षेत्रमा भएको लगानीलाई सुरक्षित गर्न सरकार सधैं प्रतिबद्ध रहेको बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)