पार्कको डिजाइन तयार
वीरेन्द्रनगर । सुर्खेतको वीरेन्द्रनगरमा चौघानपार्क निर्माण गर्न डिजाइन तयार भएको छ । वीरेन्द्रनगरलाई सुन्दर र रमणीय बनाउनका लागि चौघानपार्क निर्माण गर्न लागिएको सुर्खेत उपत्यका नगर विकास समितिले जानकारी दिएको छ । नगर विकास समितले सोमवार वीरेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरेर चौघानपार्क निर्माण सम्बन्धी सुझाव संकलन गरेको छ ।
कार्यक्रममा सहभागीले उक्त पार्क सुर्खेतको पहिचान झल्काउने खालको निर्माण गर्न सुझाव दिएका छन् । वीरेन्द्रगरको सामाजिक विकास मन्त्रालयको पछाडि रहेको खाली जमीनमा पार्क निर्माण गर्न लागिएको हो ।
कार्यक्रममा इन्जिनीयर पल्लवी सिंहद्वारा तयार गुरुयोजनाको डिजाइन सार्वजनिक गरिएको छ । पार्क निर्माणका लागि झन्डै २० करोड ८० लाख रकम लागत लाग्ने अनुमान गरिएको सिंहले जानकारी दिइन् ।
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका प्रमुख देवकुमार सुवेदीले वीरेन्द्रनगर नगरपालिकाको गुरुयोजनाभित्र नै चौघानपार्क पनि पर्ने भएकाले यसको निर्माण शीघ्र गरिने बताए । उनले चौघान पार्क नेपालमै नमूना पार्क बन्ने भन्दै यसमा सबैको साथको आवश्यक रहेको बताए । सुवेदीले बजेटका हिसाबले चौघानपार्क निर्माण गर्न धेरै ठूलो समस्या नभएको भन्दै अहिले डिजाइन अनुसार काम थालिने जानकारी दिए ।
कार्यक्रममा उपत्यका नगर विकास समितिका अध्यक्ष नारायणकुमार कोइरालाले सुर्खेतको बजारलाई पहिले चौघान भनिने भएकाले त्यसको पहिचानका लागि पनि यसको नाम चौघानपार्क राख्न लागिएको जानकारी दिए । कोइरालाले पार्क निर्माण गर्ने स्थलमा प्रदेश सरकार भवन निर्माणका संरचना बनाउने निर्णय गरिएकोमा त्यो मान्य नहुने बताए । कोइरालाले नगरपालिकालाई छिट्टै डीपीआर तयार पारेर काम थाल्न आग्रह गरे । कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले कर्णाली प्रदेशको पहिचान हुनेगरी पार्क निर्माण गर्नुपर्ने बताए ।
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका विभिन्न वडाका वडाअध्यक्ष विभिन्न राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।