रारा र मानसरोवर जानेको ओइरो : पर्यटकले कर्णालीका होटल भरिभराउ
May 22, 2019
 
बजार
सुर्खेत । रारा जाने पर्यटकसँगै कैलाश पर्वत र मानसरोवर जाने तीर्थालुका लागि हिजोआज सुर्खेत प्रमुख केन्द्रविन्दु बन्न थालेको छ । सुर्खेत र बाँकेको नेपालगञ्जमा पर्यटकको ओइरो लाग्न थालेपछि यहाँ एकपछि अर्को नयाँ होटलहरू थपिइरहेका छन् । सुर्खेतको भाग्य चम्किनुको अर्को कारण हो, मुगुको राराताल । यो ताल हेर्न जाने स्वदेशी तथा विदेशी पर्यटकको प्रवेशद्वार पनि सुर्खेत नै हो । होटल व्यवसायी तर्कबहादुर शाहीका अनुसार वीरेन्द्रनगरका साना, ठूला सबै होटलहरू आन्तरिक तथा बाह्य पर्यटकका कारण यतिबेला भरिभराउ छन् । ‘सधैंभरि यस्तै भए त कति राम्रो हुन्थ्यो,’ उनले भने । शाहीजस्तै सुर्खेतका होटल व्यवसायीहरू अहिले ‘रारा– मानसरोवर–मौसम’ ले निकै उत्साही छन् । सुर्खेतमा पर्यटकीय पूर्वाधार भएका करीब ७५ होटल छन् । रारा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत यज्ञराज रोकायाका अनुसार दैनिक डेढ सयको संख्यामा पर्यटक आउने गरेका छन् ।
सुर्खेत, नेपालगञ्जमा ओइरिँदै पर्यटक
मानसरोवर कैलाश दर्शन गर्न जान अहिले दैनिक सयौंको संख्यामा भारतीय पर्यटकसुर्खेत, नेपालगञ्ज पुग्न थालेका छन् । गत वर्षमात्रै करीब १५ हजार भारतीय पर्यटक सुर्खेत, नेपालगञ्जबाट हुम्लाको सिमीकोट हुँदै कैलाश मानसरोवर गएका थिए । यी मध्ये करीब पाँच हजार पर्यटक काठमाडौंबाट हवाईमार्ग हुँदै नेपालगञ्ज आएका थिए भने बाँकी यात्रु लखनऊ रुपैडिया हुँदै आएका थिए । यसवर्ष यो संख्या बढेर करीब २५ हजार पुग्ने अनुमान छ ।
मानसरोवर जाने याम शुरू
नेपाल–भारत व्यापारिक नाका नेपालगञ्ज हुँदै तिब्बतको कैलाश मानसरोवर जाने याम शुरू भइसकेको छ । होटल व्यवसायी संघले बिहान एयरपोर्टमै पुगेर तीर्थयात्रीलाई बाजागाजासहित खादा लगाएर स्वागत गर्ने गरेका छन् । आइतवार मात्र २५५ यात्रु सिमकोट आएका छन् । तीमध्ये १ सय ९३ जना हिल्सा पुगिसके । होटल व्यवसायी संघका अध्यक्ष मिम लामाले पर्यटकलाई नेपालबारे राम्रो सन्देश दिनका लागि स्वागत गरिएको बताए ।
हेलिकोप्टरलाई भ्याइनभ्याइ
आइतवार मात्र समिट एयरले आठ र माउन्टेन एयरले १५ फ्लाइट गरे । मानसरोवर कैलाश जाने यात्रुहरू नेपालगञ्ज तथा सुर्खेतबाट जहाजमा सिमकोट र सिमकोटबाट हेलिकोप्टरमा हिल्सासम्म पुग्ने गर्छन् । यो सिजनमा हेलिकोप्टर कम्पनी यात्रु ओसार्न व्यस्त छन् । सिम्रिक एयरका प्रतिनिधि कमल गौतमले सिजन शुरू भएसँगै हेलिकोप्टर कम्पनीको व्यस्तता बढ्ने बताएका छन् । मानसरोवर चीनमा पर्छ, त्यहाँ पुग्ने पर्यटकले नेपालको बाटो प्रयोग गर्छन् । अधिकांश पर्यटक नेपाल भएर मानसरोवर जाने हुँदा उनीहरूले नेपालमै ९० प्रतिशत रकम खर्च गर्ने गर्छन् । यो ठाउँ समुद्री सतहबाट करीब ६ हजार ५ सय मिटर उचाइमा रहेको छ । मानसरोवर ताल कैलाश पर्वतको फेदी हो । कैलाश पर्वत फेरो लगाउन साढे दुई दिन लाग्छ ।
कर्णाली राजमार्गमा रौनक
रारा जाने यात्रीका कारण कर्णालीका राजमार्गमा पनि छुट्टै रौनक बढेको छ । यसले राजमार्गमा पर्ने गुराँसे, तल्लो डुंगेश्वर, राकम, पिली, नाग्मलगायत क्षेत्रका होटलमा खाने र बस्नेको संख्या बढेको छ । दैलेखको गुराँसेस्थित तारा होटलका प्रोप्राइटर नमराज कँडेलले अरू समयभन्दा बास बस्ने पाहुनाको संख्या करीब ८० प्रतिशत बढेको बताए । गुराँसेमा तारासहित अन्य एक दर्जन होटल छन् । त्यस्तै दैलेखकै तल्लो डुंगेश्वरमा पनि होटल भरिभराउ छन् । यही मौकामा होटल व्यवसायीले स्थानीय परिकार, कर्णालीका माछा पर्यटकलाई खुवाउने गरेका छन् ।