ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

के साहित्यका पाठक घटेका हुन् त ?

May 30, 2019  
विविध
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar काशीराम बजगाईं

जेठ १६,काठमाडौं । आजकल चिया पसलदेखि साहित्यिक सम्मलेनसम्म लेखकको एउटै गुनासो हुने गरेको पाइन्छ । प्रकाशकहरूले थाप्लोमा हात राखेर रुनुपर्ने कारण पनि त्यही हो, ‘किताब बिक्दैन’ ।

पाठकहरू भन्छन्– बजारमा निम्न स्तरका किताब छन् र प्रकाशक बजारमा जे बिक्छ त्यही प्रकाशन गर्छौैं भन्छन् । विक्री ओरालो लागेको प्रकाशकको मात्र नभएर पुस्तक व्यवसायीहरूको पनि गुनासो छ । प्रकाशकले बिक्ने किताब प्रकाशन गरेका छन् तरपनि पाठकले किन खोजेजस्तो किताब पाएका छैनन् ? कवि मनु मञ्जिल भन्छन्, ‘प्रकाशक व्यवसायी हो, प्रकाशकलाई दोष लगाउन मिल्दैन । यसको जिम्मेवारी लेखकले लिनुपर्छ, पाठक निर्माण गर्ने लेखकको काम हो ।’ तर प्रकाशकले बजारमा निम्न स्तरको कन्टेन्ट बिक्छ भन्दैमा त्यही लिएर जानुहुँदैन भन्ने उनको धारणा छ । ‘पुस्तकको विकासमा प्रकाशकको पनि केही दायित्व हुन्छ,’ उनले भने, ‘एकपटक बिकिसकेको जस्तै कन्टेन्टको किताव फेरि बिक्छ भन्ने भ्रम प्रकाशकमा रहेको पाइन्छ,यसबाट मुक्त हुनुपर्छ ।’

कवि तथा साहित्कार भिष्म उप्रेती सामाजिक सञ्जाल लगायतको विकासले गर्दा पुस्तक पढ्ने बानी घट्दै गएको देख्छन् । लेखक बन्ने भन्दा पनि समालोचक र मिडियाले लेखक बनाइदिने हुँदा निम्न गुणस्तरका किताव बजारमा पुगी बौद्धिक पाठकको विकास हुन नसकेको उनको धारणा छ । सरकारले हरेक क्षेत्रमा पुस्तकालय खोल्ने र पढ्ने क्रियाकलापको विकास गर्नुपर्ने बताउँदै लेखकले पनि विमोचन लगायतका कार्यक्रममा लेखक मात्र बोलाउँने प्रवृत्तिको अन्त्य गरि सामान्य पाठकसँग भिज्नुपर्ने उनले बताए ।

लेखक सुविन भट्टराई चाहिँ पाठक घटेको कुरा स्वीकार्न तयार छैनन् । ‘दुई हप्ता चल्ने र बन्द हुने सिनेमाजस्तो किताव नभएकोले प्रकाशन हुने वित्तिकै चलेन भन्नु उपयुक्त होइन,त्यसकारण कितावमा बिक्ने कन्टेन्ट हुनुपर्छ,’ उनले भने । ‘समर लभ’ चलेपछि बल्ल ‘कथाकी पात्र’ बजारमा चलेको बताउँदै उनी नामले पनि किताव बिक्ने कुरा स्वीकार्छन् । कवि नवराज पराजुली पनि राम्रो किताव नबिक्ने कुरालाई स्वीकार्न तयार छैनन् । ‘लेखकले कितावमा न्याय गरेको छ भने त्यो किताव सदाबहार बन्छ, नबिक्ने भन्ने हुँदैन,’ उनले भने ।

सन्तुलित र तटस्थ समीक्षाको अभाव

प्राध्यापक तथा समीक्षक राम लोहनी अन्तरक्रियाको विकल्पका रूपमा सामाजिक सञ्जालको विकास भएको कारण पुस्तकप्रति पाठकको ध्यान कम भएकोे हुनसक्ने बताउँछन् । ‘यो विज्ञापनको जमाना हो, चर्को विज्ञापन गरेर किताव पाठककहाँ त पुग्छन् तर ती किताव पाठकलाई मन पर्दैैनन् जसले गर्दा कितावप्रति पाठकको चासो कम हुन थाल्छ,’ उनी भन्छन् ।

उनकाअनुसार किताव व्यक्तिले नभई पुस्तकालयले किन्ने हो तर पुस्तकालयको अभावले गर्दा पनि प्रशस्त मात्रामा कितावको विक्री हुन सकेको छैन । यद्यपि उनी बजारमा कितावको विक्री ओरालो लाग्यो भन्नु सत्य नभएको जिकिर गर्छन् । उनकाअनुुसार विदेशी कितावले नेपाली कितावसँग प्रतिस्पर्धा गरेको कारण र बजारमा धेरै किताव आएकाले छुट्टाछुट्टै कितावको विक्रीको तथ्यांक कम देखिएपनि समग्रमा कितावको विक्री बढेको छ ।

राम्रा कितावको अभाव, आत्मकथाको नाममा आत्म गुणगान गाइएका र भद्दा प्रचार गरिएका कितावको बिगबिगी, सन्तुलित र तटस्थ समीक्षाको अभाव आदि कारणले पाठक बिच्किएको भन्दै यसमा लेखक, प्रकाशक र समीक्षकहरू सचेत हुनुपर्ने उनले बताए ।

के भन्छन् पुस्तक व्यवसायी

पुस्तक व्यवसायीहरू पछिल्लो समय लोकसेवा, खरिदार, नायब सुब्बा लगायतका किताब र पाठ्यक्रम बाहेक अन्य किताबमा पाठकको आकर्षण घटेको बताउँछन् । उनीहरूकाअनुसार ईतिहास, दर्शन, राजनीति लगायतका पुस्तकका पाठकमा पनि वृद्धि हुन सकेको छैन भने साहित्यका पाठक भने घटेका छन् । उनीहरूकाअनुसार पहिलेको तुलनामा प्रेमिल आख्यान र किशोर किशोरीको विषयमा लेखिएका कितावका पाठक भने पहिलेको तुलनामा केही बढेका छन् ।

के भन्छन् प्रकाशक ?

सिखा बुक्सका प्रवन्ध निर्देशक पुष्पराज पौडेल बजारमा पहिलेभन्दा किताव कम बिक्न थालेको स्वीकार्छन् । उनकाअनुसार मूल्यका कारण र विकल्पका रुपमा सामाजिक सञ्जाल लगायत विभिन्न क्षेत्रको विकासले गर्दा पनि पाठक घटेका हुनसक्छन् । ‘म हरेक किताव एकपटक पढेर मात्र छाप्छु, तर बजारमा लेखकले दिएअनुसार छापिएका किताव पनि छन् । कितावको गुणस्तरका कारण पनि पाठक घटेका छन्, त्यसैले प्रकाशक सचेत हुन आवश्यक छ,’ उनले भने ।

ईन्डिगो प्रकाशनका अध्यक्ष विष्णु कुमार पौड्याल सामाजिक यथार्थ विषयवस्तुका किताव र आख्यानको बजार बढेको बताउँछन् । लेखक र पेपर छपाई बढेपनि त्यस हिसाबले समग्रमा विक्री भने खस्किएको बताउँदै पुस्तकको विषयमा सबैले गम्भीर भएर सोच्नुपर्ने बेला आएको उनले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)