जेठ १८, पेचिङ (चीन) । चीनले अमेरिकाबाट आयातित सामग्रीहरुमा गरेको कर वृद्धि कार्यान्वयनमा आएको छ ।
शुक्रवार मध्य रातदेखि मासु, रक्सी, तेलहन र फलफूल लगायत ६० अर्ब डलर बराबरका अमेरिकी वस्तुमा २५ प्रतिशतसम्म महसुल कार्यान्वयनमा आएको हो । अमेरिकाले मेमा २ खर्ब डलर बराबरका चिनियाँ वस्तुमा महसुल बढाएपछि चीनले पनि सोको प्रतिकारमा महसुल वृद्धिको घोषणा गरेको थियो ।
चीनले यस अघि भने ५ हजार १४० अमेरिकी उत्पादनहरुमा ५ प्रतिशतदेखि १० प्रतिशत अतिरिक्त महसुल लगाएको थियो । शुक्रवार नै चीनले देशको हितमा घातक ठानिएका केही विदेशी कम्पनी र व्यक्तिहरुलाई समेत कालोसूचिमा राख्ने घोषणा गरेको छ । ‘एकतर्फी र व्यापार संरक्षणवाद विरुद्ध लड्न आवञ्छनीय तत्वहरुको सूचि तयार पार्ने निर्णय गरिएको छ,’ त्यहाँको वाणिज्य मन्त्रालयले भनेको छ ।
अहिले विश्वको आर्थिक विकास अनिश्चित रहेको र अस्थीर तत्वहरु सल्बलाइरहेको पेचिङमा आयोजित एक पत्रकार सम्मेलनमा चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ता काओ फङले भने ।काओका अनुसार चिनियाँ कम्पनीहरुमा उल्लेख्य क्षति पुर्याउने र चीनको राष्ट्रिय सुरक्षामा जोखिम उत्पन्न गराउन सक्ने कुनै पनि संस्था, कम्पनी र व्यक्तिहरुलाई चीनले कालोसूचिमा राख्न सकिनेछ ।
अब के हुन्छ ?
चीनले अमेरिकाबाट आयातित वस्तुमा बढाएको महसुलले त्यहाँको आर्थिक वृद्धिदरमा धेरै प्रभाव भने नपार्ने विश्लेषण गरिएको छ । चीनले अमेरिकाबाट सवा १ खर्ब डलर बराबरको वस्तु पनि आयात गर्दैन । यद्यपि, व्यापार युद्ध बढ्दै गएमा अमेरिकामा चिनियाँ लगानी घट्ने र यसले भने प्रतिकूल प्रभाव पार्न सक्ने विश्लेषकहरु बताउँछन् । एजेन्सी