ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

स्थानीयको शेयर : सान्जेन र रसुवागढीको आईपीओ सूचीकरण ढिलाइको कारण

Jun 2, 2019  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी
काठमाडौं । वैशाख १९ गते नै सर्वसाधारणलाई शेयर बाँडफाँट गरेका सान्जेन जलविद्युत् कम्पनी र रसुवागढी हाइड्रोपावर कम्पनीले हालसम्म सूचीकृत गरेका छैनन् । पछिल्लो समय आईपीओ जारी गर्ने कम्पनीहरूले छोटो समयमै शेयरलाई कारोबार योग्य बनाइरहेको अवस्थामा यी दुई कम्पनीको शेयर सूचीकरण प्रक्रिया भने अन्योलमा देखिएको हो । जनताको जलविद्युत् कार्यक्रमअन्तर्गतका आयोजनामा समेटिएका यी दुवै कम्पनीले स्थानीयलाई भन्दा अघि कर्मचारी र सर्वसाधारणलाई शेयर बाँडेका हुन् । रसुवागढी हाइड्रोपावर कम्पनीका सचिव नरनाथ न्यौपानेले स्थानीयलाई शेयर जारी गर्न बाँकी रहेकाले यस विषयमा कसरी जाने भन्नेबारे छलफल चलिरहेकाले सूचीकरण प्रक्रियामा ढिलाइ भएको जानकारी दिए । उनका अनुसार स्थानीयकै आग्रहमा सर्वसाधारणपछि शेयर जारी गर्ने वातावरण मिलाए पनि हाल आएर कर्मचारी र सर्वसाधारणको शेयर सूचीकरणमा अन्योल देखिएको हो । स्थानीयको शेयर लकइन अवधि तीनवर्षे रहेको प्रसंगमा यो अवधि कहिलेदेखिको हुने भन्नेमा स्पष्ट नहुँदा सम्बन्धित निकायमा राय माग्ने तयारी भएको न्यौपानेले बताए । शेयर सूचीकरणको विषयमा सान्जेन जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले पनि एकै दिन बाँडफाँट भएको शेयरसँगै सूचीकरण प्रक्रियामा लैजाने तयारी भए पनि एउटै समस्याले ढिलाइ भएको बताए । यस विषयमा नियामक निकायको निर्देशनबमोजिम नै अघि बढ्ने उनको भनाइ छ । अन्य जलविद्युत् कम्पनीले कर्मचारी र स्थानीयलाई शेयर बाँडफाँट गरेपछि मात्र सर्वसाधारणलाई जारी गर्ने र सूचीकरण एकैपटक हुँदै आएको थियो । कर्मचारी र स्थानीयले भने सूचीकरण भए पनि लकइन अवधि ३ वर्ष पूरा भएपछि मात्र कारोबार गर्न पाउने व्यवस्था छ । यी कम्पनीले पहिलो चरणमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, कोषका कर्मचारी तथा नेपाल विद्युत् प्राधिकरणका कर्मचारी र चिलिमे जलविद्युत् कम्पनीका कर्मचारीलाई आईपीओ विक्री गरी दोस्रो चरणमा सर्वसाधारणका लागि शेयर विक्री गरेका हुन् । चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीको रूपमा रहेका यी दुवै कम्पनीले पहिलो चरणमा वितरण गरेको २४ प्रतिशत शेयरमध्ये कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताका लागि १९ दशमलव ५ प्रतिशत, संस्थापक संगठित संस्था (चिलिमे हाइड्रो, नेपाल विद्युत् प्राधिकरण, रसुवाका स्थानीय निकाय)का कर्मचारीका लागि ३ दशमलव ५ प्रतिशत र ऋणदाता संस्था कर्मचारी सञ्चय कोषका कर्मचारीका लागि १ प्रतिशत छ । दोस्रो चरणमा आयोजना प्रभावित स्थानीयलाई आईपीओ जारी गर्ने योजना रहे पनि २०७२ सालको भूकम्पले प्रभावित रसुवाका स्थानीयले त्यो समयमा पुनर्निर्माण कार्य गरिरहेको अवस्थामा शेयरमा लगानी गर्न असमर्थ भएको भन्दै निष्कासन प्रक्रिया पछाडि सार्न आग्रह गरेपछि कम्पनीले त्यो व्यवस्था मिलाएको बताइएको बताइएको छ । सान्जेन र रसुवागढी दुवैका आयोजना रसुवामा निर्माण भइरहेको हो । यी कम्पनीले सर्वसाधारणका लागि १५ प्रतिशत शेयर वितरण गरेको हो भने आयोजना प्रभावित स्थानीयलाई १० प्रतिशत शेयर वितरण गर्न बाँकी छ । रसुवामा सान्जेनले १४ दशमलव ८ मेगावाट क्षमताको माथिल्लो सान्जेन र ४२ दशमलव ५ मेगावाट क्षमताको सान्जेन गरी दुई आयोजना निर्माण गरिरहेको छ । त्यस्तै रसुवागढी आयोजनाको क्षमता १११ मेगावाट छ । यी आयोजना चिलिमे जलविद्युत् कम्पनीअन्तर्गत निर्माण भइरहेका छन् । रसुवागढीको निर्माणाधीन आयोजनाको प्रतिमेगावाट लागत रू. १५ करोड १२ लाख २४१ छ भने सान्जेनको दुवै आयोजनाको प्रतिमेगावाट लागत रू. १५ करोड छ । यी दुवै कम्पनीले जारी पूँजीको आधारमा संस्थापकतर्फ ५१ प्रतिशत, कर्मचारीमा २४ प्रतिशत, सर्वसाधारणलाई १५ प्रतिशत र स्थानीयका लागि १० प्रतिशत शेयर स्वामित्व कायम गरेका छन् । सान्जेनको जारी पूँजी रू. ३ अर्ब ६५ करोड छ भने रसुवागढीको ६ अर्ब ८४ करोड २१ लाख छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)