जेठ २०, काठमाडौं (अस) । जनसेवी लघुवित्तको शेयर कालिका लघुवित्तसँगको मर्जरपछि मात्र सूचीकृत हुने भएको छ ।
मर्जरमा जान लागेको कालिका लघुवित्तको शेयर कारोबार रोक्का भईसकेको हुदाँ यस कम्पनीको पनि सूचीकरणपश्चात् रोक्का गर्नुपर्ने भएकाले मर्जरपछि मात्र सूचीकरण गर्ने जानकारी गराएको हो ।
यी दुई कम्पनीविच जेठ ५ गते एक आपसमा गाभिने (मर्जर) सहमति भएको थियो । जनसेवीले गत जेठ ६ गते सर्वसाधारणलाई ४ लाख ६३ हजार ३०० कित्ता शेयर बाँडफाँट गरेको थियो । संस्थापकतर्फको ९ लाख ८० हजार कित्ता शेयर गरी यस कम्पनीको कुल १४ लाख ४३ हजार ३०० कित्ता शेयर रहेको छ ।
जनसेवीको शेयर बाँडफाँटमा परेका लगानीकर्ताहरु, सामूहिक लगानी कोष योजनाहरु तथा कर्मचारीहरुलाई मर्जरपश्चात् नयाँ कायम हुने कम्पनीको नाममा स्वतः सोही कम्पनीको नामबाट हितग्राही खातामा जम्मा गरिने समेत कम्पनीले जानकारी दिएको छ ।