जेठ २३, रौतहट । कुनै बेला रौतहटको गुजरा नगरपालिका–३ स्थित सिम्रीमा विद्युतको पहुँच नहुँदा करीब ४० लाख रुपैयाँको लागतमा स्थापना गरिएको ग्याँसिफायर प्लान्ट अहिले जीर्ण एवम् अलपत्र अवस्थामा छ । घाँसपात र स–साना काठका टुक्राबाट विद्युत उत्पादन गर्न २०६९ सालमा जडान गरिएको यो ग्याँसिफायर प्लान्ट ५ वर्षयता प्रयोगमा आएको छैन । यसका पार्टपुर्जाहरु पनि खिया लागेर काम लाग्ने अवस्थामा छैनन् ।
राष्ट्रिय प्रसारण लाइनको विद्युत नपुगेको अवस्थामा स्थानीय १०० घरधुरीलाई उज्यालो दिएको यो प्लान्ट करीब २ वर्ष सञ्चालनमा आयो । गाउँघरमा प्रयोगबिहीन अवस्थामा रहेका काठका स–साना टुक्रा तथा धुलो लगायतका कच्चा पदार्थ प्रयोग गरी प्लान्टबाट २० केभी विद्युत् उत्पादन हुने गरेको व्यवस्थापक रामबहादुर लामाले जानकारी दिए । तर विद्युत विक्रीबाट हुने आम्दानीभन्दा सञ्चालन खर्च अत्याधिक बढी हुन थालेपछि प्लान्ट नै बन्द गर्नुपरेको उनको भनाइ छ । लामाका अनुसार विद्युत प्रयोग गरेबापत १०० घरधुरीबाट १५ हजार रुपैयाँ संकलन हुने गरेको थियो । तर प्लान्टको सञ्चालन खर्च मासिक ५० हजार रुपैयाँभन्दा बढी हुन थालेपछि बन्द गर्नुपरेको हो ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, तत्कालीन जिविस, साविक कनकपुर गाविस र नमस्ते सामुदायिक वन उपभोक्ता समितिको आर्थिक सहयोगमा बिजुली निकाल्ने प्लान्ट स्थापना गरिएको थियो । ग्याँसिफायर प्लान्टको विद्युत प्रयोग गर्ने क्षेत्रमा केही वर्षअघि राष्ट्रिय प्रसारण लाइनको विद्युत पुगिसकेको छ । यसैकारण पनि प्लान्टको पुनःसञ्चालनमा कसैको पनि ध्यान नपुगको हो ।
तर गाँउघरमा पाईने स्थानीय कच्चा पदार्थको प्रयोग गरी बिजुली निकालिने भएकाले यसलाई प्रयोगमा ल्याउनु पर्ने गुजरा नगरपालिकाका नगर प्रमुख सन्तलाल चौधरी बताउँछन् ।