वीरेन्द्रनगर । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशमा पेट्रोलियम पदार्थको भण्डारण व्यवस्थाका लागि सुर्खेतको छिन्चुमा भण्डारण केन्द्र राख्न नेपाल आयल निगमलाई आग्रह गरेका छन् । उनले कर्णालीका सल्यान, रूकुमपश्चिम, जाजरकोट र डोल्पामा ढुवानी गर्न सहज हुनेगरी सुर्खेतको छिन्चुमा भण्डारण केन्द्र राख्न उपयुक्त हुने बताएका हुन् ।
पेट्रोलियम पदार्थको कारोबारको व्यवस्थापनसम्बन्धी दीर्घकालीन रणनीतिक सुधारसम्बन्धी उच्चस्तरीय कार्यदलको टोलीसँग मुख्यमन्त्री कार्यालयमा भएको भेटवार्तामा मुख्यमन्त्री शाहीले यस्तो आग्रह गरेका हुन् । हालसम्म कर्णालीमा एउटा पनि पेट्रोलियम पदार्थको भण्डारण नभएको भन्दै उनले असहज परिस्थितिमा पेट्रोलियम पदार्थ आपूर्तिका लागि भण्डारणको आवश्यकता जरुरी भएको बताए ।
निगमको टोलीले पेट्रोलियम पदार्थ भण्डारणका लागि जग्गा उपलब्ध गराउन मुख्यमन्त्री शाहीलाई आग्रह गरेको थियो । शाहीले जग्गाका लागि आफूले संघीय सरकारसँग पहल गर्ने बताएका छन् । टोलीसँगको भेटवार्ताकै बीचमा उनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवलाई फोन गरी पेट्रोलियम पदार्थ भण्डारणका लागि जग्गा प्राप्तिको फाइल अगाडि बढाइदिन समेत आग्रह गरेका छन् ।
वार्तामा शाहीले केन्द्र सरकारले आयात व्यवस्थापन गर्ने र प्रदेश सरकारले वितरणको व्यवस्थापन गर्ने नीति बनाउनुपर्नेमा जोड दिएका छन् । पेट्रोलियम पदार्थ उपभोग गर्ने उपभोक्ताको अवस्था हेरी अनुदान दिने व्यवस्था गर्न यस्तो नीति आवश्यक रहेको उनले बताएका छन् । ‘अहिले सबै खाले उपभोक्ताले एकै खालको अनुदान सुविधा पाइरहेका छन्,’ मुख्यमन्त्री शाहीले भने – ‘साधारण घरेलु उपभोक्ता, किसान र विद्यार्थीलाई दिइने अनुदान र व्यावसायिक उपभोक्तालाई दिइने अनुदान फरकफरक हुन आवश्यक छ ।’
आयल निगम घाटामा छ भन्ने कुरा जनतालाई मन नपरेको भन्दै मुख्यमन्त्री शाहीले ढुवानी, भण्डारण र वितरणमा हुने चुहावट नियन्त्रण गर्न पनि आयल निगम गम्भीर बन्नुपर्नेमा जोड दिए ।
भेटवार्तामा पेट्रोलियम पदार्थ व्यवस्थापनसम्बन्धी दीर्घकालीन रणनीतिक सुधार उच्चस्तरीय कार्यदलका सदस्य विमलप्रसाद वाग्ले, कृष्ण आचार्य र आयल निगम सुर्खेतका प्रमुख दीपक घिमिरेको सहभागिता थियो ।