ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

के हो अन्तरिम लाभांश ? कम्पनीले किन दिन्छन् अन्तरिम लाभांश ?

Jun 9, 2019  
लगानी
Aarthik Abhiyan 18th Anniversary NA
author avatar लक्ष्मी शर्मा
काठमाडौं । आर्थिक वर्ष पूरा नहुँदै बीचमै कम्पनीले आफ्नो शेयरधनीलाई दिने लाभांशलाई अन्तरिम लाभांश भनिन्छ । सामान्यतया कम्पनीले नियामक निकाय र वार्षिक साधारणसभाबाट पारित भएको लाभांशमात्र शेयरधनीलाई वितरण गर्छन् भने अन्तरिम लाभांश सञ्चालक समितिले निर्णय गरेर बाड्न सकिन्छ । तर, यसलाई भविष्यमा हुने पहिलो वार्षिक साधारणसभाबाट अनुमोदन गराउनुपर्छ । यसको अर्थ के हुन्छ भने आर्थिक वर्षको अन्त्यमा कम्पनीको मुनाफा उच्च हुने र त्यसबाट बाँडिने अन्तिम लाभांश रकम अन्तरिम लाभांशभन्दा बढी नै हुनेमा सञ्चालक समिति पूर्ण विश्वस्त हुन्छ । अन्तरिम लाभांश धेरै वितरण गरिने देशमा बेलायत पर्छ । त्यहाँ कम्पनीहरूले अर्धवार्षिक रूपमा अन्तरिम लाभांश वितरण गर्छन् । नेपालमा भने यस्तो लाभांश वितरण खासै प्रचलनमा आएको छैन । कम्पनी ऐनमा पनि यसबारे केही खुलाइएको छैन । विगतमा भने स्ट्यान्डर्ड चार्टर्ड बैंक, युनिलिभर नेपाल लिमिटेड र बैंक अफ काठमान्डूले अन्तरिम लाभांश वितरण गरेको एक लगानीकर्ता बताउँछन् । तर, त्यो करीब १० बर्षअघिको कुरा हो । त्यसपछि पूँजी बढाउनुपर्ने बाध्यता आएकाले बैंक र वित्तीय संस्थाले अन्तरिम लाभांश बाँड्न सक्ने अवस्था नै आएन । कुनै कम्पनीले अन्तरिम लाभांश बाँड्नुको अर्थ के पनि हुन्छ भने कम्पनीले उच्च मुनाफा गरेर कमाएको नगदलाई पुनः लगानी गर्ने कम्पनीको कुनै योजना छैन । पुनः लगानी गर्न नचाहिने गरी बढी नगद कम्पनीमा निष्क्रिय राख्नुभन्दा त्यसलाई शेयरहोल्डरहरूबीच वितरण गरिदिँदा शेयरहोल्डरहरूले त्यो रकम आफ्नो विवेकले प्रयोग वा अन्यत्र लगानी गर्न पाउँछन् र बढी लाभांश पाउँछन् । यसको अर्थ के पनि हुन्छ भने कम्पनीको कुनै ठूलो शेयरहोल्डर (जसको सञ्चालक समितिमा राम्रो नियन्त्रण हुन्छ) लाई नगदको आवश्यकता परेको छ र ऊ त्यो आवश्यकता पूरा गर्न कम्पनीबाट केही समय पछि पाउने नगद लाभांशमध्ये केही अहिल्यै झिक्न चाहन्छ । पछिल्लो समय उत्पादन तथा प्रशोधन समूहको हिमालयन डिस्टिलरी कम्पनीले आफ्ना शेयरधनीलाई प्रतिशेयर रू. ६८ दशमलव ४२ का दरले अन्तरिम लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीको जेठ ९ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो । सो लाभांश पाउन शेयरधनीले जेठ १७ गतेसम्म शेयर किनेको हुनुपर्नेछ । कम्पनीले अन्तरिम लाभांश घोषणा गरेसँगै जेठ १२ गते शेयरमूल्य ८७ अंक बढेर रू. १ हजार ८ सय ९६ मा खुला भएको थियो । सो दिन कम्पनीको शेयरमूल्य अधिकतम रू. १ हजार ९ सय ७४ सम्म पुगेको थियोे ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)