जेठ २६, काठमाडौं (अस) । रिलायन्स फाइनान्सले सोमवार संयुक्त वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ को संयुक्त साधारण सभा बोलाएको हो ।
लैनचौर बैङ्क्वेट, काठमाडौंमा विहान ११ बजे शुरु हुने सभाका लागि प्रस्तावित लाभांश तथा गत वर्षको वार्षिक प्रतिवेदन पारित, लेखा परिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणका साथै सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम तय भएको छ ।
कम्पनीले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट १२ प्रतिशत बोनस शेयर र शुन्य दशमलव ६३ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ । त्यस्तै आर्थिक वर्ष २०७३/७४ को मुनाफबाट बोनसपश्चात कायम चुक्तापूँजीको आधारमा २ दशमलव ५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
साथै कर प्रयोजनका लागि शुन्य दशमलव १३ प्रतिशत नगद लाभांश समेतको प्रस्ताव कम्पनीको छ । सभा प्रयोजनका लागि कम्पनीले जेठ १३ गते बुक क्लोज गरेकाले जेठ १२ गतेसम्म कायम सदस्यहरुले सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
हाल कम्पनीको चुक्तपूँजी रू. ७४ करोड ३२ लाख २९ हजार रहेको छ । १२ प्रतिशत बोनस पश्चात कम्पनीको चुक्तापूँजी रू. ८३ करोड २४ लाख १६ हजार पुग्नेछ । आर्थिक वर्ष २०७३/७४ को प्रस्तावित २ दशमलव ६३ प्रतिशत नगद लाभांश भने यहि चुक्तापूँजीको आधारमा वितरण गर्ने कम्पनीको पस्ताव हो ।
चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले रू. २ करोड ७१ लाख ३६ हजार खुद नाफा गरेको छ । दोस्रो बजारमा कम्पनीको शेयर कारोबार रू. १४४ सम्म भइरहेको छ ।