असार १२, हनोई । भियतनामले नक्कली सवारी चालक अनुमतिपत्र बनाए वा परीक्षा अनुत्तीर्ण भई सवारी चलाएको पाइए पाँच वर्ष सवारी साधन चलाउन प्रतिबन्ध गर्नेगरी नयाँ नियम लागू गरेको छ । स्थानीय संचारमाध्यमका अनुसार नयाँ नियम आगामी सेप्टेम्बरदेखि लागू हुनेछ ।
भियतनाम सडक विभाग तथा गृह मन्त्रालयले नक्कली सवारी चालक प्रमाणपत्र विक्री गर्ने गिरोहलाई पक्राउ गर्न देशव्यापी अभियान सञ्चालन गरिने बताएको छ । सवारी चालक अनुमतिपत्र लिनेक्रममा गरिने परीक्षा प्रणालीलाई थप व्यवस्थित गरिनेछ । भियतनाममा नक्कली लाइसेन्स र स्वास्थ्य परीक्षण प्रमाणपत्र अनलाइनबाटै विक्री गर्नेक्रम बढेको छ ।
लाइसेन्स लिनेक्रममा हाल ४५० ओटा प्रश्नको साटो ६०० ओटा प्रश्न सोध्ने नयाँ नियम बनाइएपछि नक्कली लाइसेन्स लिनेक्रम ह्वात्तै बढेको अध्ययनले देखाएको छ । यसै वर्षको पहिलो पाँच महीनामा भियतनाममा ६ हजार ७७९ ओटा सवारी दुर्घटना भएका छन् जसका कारण ३ हजार १२८ जनाको मृत्यु हुनुका साथै २ हजारभन्दा बढी घाइते भएको ट्राफिक प्रहरीले बताएको छ । रासस/सिन्ह्वा