असार १२, काठमाडौं(अस) । जेठ १४ गतेदेखि स्थानीयका लागि विक्रीमा ल्याएको हिमाल दोलखा हाइड्रोपावर कम्पनीको आईपीओ बुधवारसम्म १० दशमलव ५५ प्रतिशत मात्र विक्री भएको छ ।
कम्पनीले १६ लाख कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्र इलाम जिल्लाका स्थानीयको लागि विक्रीमा ल्याएको थियो । विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडले दिएको जानकारी अनुसार बुधवारसम्म ९१५ जनाबाट १ लाख ६८ हजार ८४० कित्ताको लागि मात्र आवेदन परेको छ ।
यस आईपीओमा आवेदन दिने छिटो अवधि जेठ २८ गते रहेपनि सो अवधिमा तोक बमोजिम आवेदन नपरेपछि ढिलो मिति असार १३ सम्म विक्री खुला रहने छ । तर, ढिलो अवधिसम्म पनि सम्पूर्ण कित्तामा आवेदन पर्ने सम्भावना कम देखिएको छ । यो अवधिमा विक्री नभएको शेयर सर्वसाधारणको हिस्सामा थप भएर आउने विक्री प्रबन्धकको भनाई छ ।
यस कम्पनीले इलाम जिल्लाको इलाम नगरपालिका वडा न ९, १० र माई नगरपालिका वडा न. ९ का बासिन्दा तथा आयोजना प्रभावित क्षेत्र इलाम जिल्लामा स्थायी बासोबास गर्नेहरुका लागि मात्र आईपीओ जारी गरेको हो । आवेदकले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
विक्री प्रबन्धकसँगै इलामको चोक बजारमा रहेको लक्ष्मी बैंक ,फिक्कल बजारको एभरेष्ट बैक, सिद्धार्थ बैंक, भानुपथको सेञ्चुरी कर्मशियल बैंक,नेपाल एसबिआई बैंक, माछापुच्छ्रे बैंक र आयोजना स्थलबाट आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट २०७५ माघ ७ गते को निर्देशन बमोजिम आयोजना प्रभावित क्षेत्रका स्थानीयहरुले ऐच्छिक रुपमा आस्वा सेवाबाट पनि आवेदन गर्न सक्नेछन् ।