रुकुम । शारीरिक रूपमा पूर्ण अशक्त रीता कामीसँग केही समय अघिसम्म अपांगता परिचयपत्र थिएन । बुवा मन्जित कामीले बोक्ने मान्छे लगाएर मुसीकोट नगरपालिकाको कार्यालयसम्म पु¥याएपछि मात्र उनको अपांगता परिचयपत्र बन्यो ।
चौरजहारी नगरपालिका–१४ की कल्पना शाही ओली अपांगता भएका व्यक्ति हुन् । गत महीना बिरामी पर्दा भरियाकै भरमा अस्पताल पु¥याइयो । तर अस्पतालमा पनि उनलाई उस्तै समस्या भयो, भित्र–बाहिर गर्दा आफ्न्तकै भर पर्नुपर्यो ।
यी त केही उदाहरण मात्र हुन् । जिल्लाका अधिकांश सरकारी कार्यालयहरू (विद्यालय, अस्पताल, गाउँपालिकाका कार्यालय आदि) अपांगतामैत्री नहुँदा अपांगता भएका व्यक्तिले सास्ती पाउँदै आएका छन् । विभिन्न कार्यालयमा सेवा लिन जाँदा समेत उनीहरूलाई अरूको सहारा चाहिन्छ । कार्यालयसम्म बल्लतल्ल पुगे पनि सम्बन्धित फाँटहरूमा पुग्न उस्तै समस्या छ ।
त्रिवेणी गाउँपालिकाका सूचना अधिकारी मानबहादुर खत्रीले अपांगतामैत्री संरचना नहुँदा समस्या भएको स्वीकारे । कार्यालयका अन्य संरचनाको बनोट पनि अपांगतामैत्री नभएकाले हरेक महीनाको ५ गते कार्यालयको चौरमै अस्थायी कार्यालय राखेर सेवा दिरहेको उनले बताए ।
जिल्लामा भर्खरै बनेको रुकुम जिल्ला अदालत र पुरानो जिल्ला प्रशासन कार्यालयबाहेक अन्य कार्यालयका संरचना अपांगतामत्री छैनन् । यसले गर्दा अपांगता भएकाहरूलाई सेवा पाउनै सकस भएको अपांगता बहुउद्देश्यीय पुनःस्थापना केन्द्रका अध्यक्ष गणेश केसीले बताए ।
जिल्लाका पुराना संरचनाहरू अपांगतामैत्री नभएको अवस्थामा त्यसको पुनर्निर्माण गरेर अपांगतामैत्री बनाउन सकिने सम्भावना छ । तर जिल्लामा पछिल्लो समय बनेका अधिकांश संरचनामा यो समस्यालाई बेवास्ता गरिएको छ ।