असार २२, काठमाडौं(अस) । वोमी लघुवित्त वित्तीय संस्थाले १ बराबर १ (१ः१) अनुपातमा साउन ९ गते देखि भदौ ११ गते सम्म हकप्रद शेयर निष्कासन गर्दैछ ।
कम्पनीको शेयरधनीका लागि प्रति शेयर रू. १०० अंकित दरको १० लाख १० हजार ८८० कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । कम्पनीको असार २७ गते सम्म शेयर किन्ने वा शेयर स्वामित्व हुने शेयरधनी हुनाले हकप्रद शेयरमा खरीदको लागि आवेदन दिन सक्नेछन् ।
यस लघुवित्त र नागरिक लघुवित्त मर्जरमा जाने सम्झौता भएपछि कम्पनीको शेयर कारोबार फागुन २६ गतेदेखि रोक्का रहेको छ । हकप्रद शेयर खरीदका लागि कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड, वोमी लघुवित्तका सम्पूर्ण शाखा र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएका सि–आस्वा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिन्छ ।
हकप्रद शेयर निष्कासन पछि कम्पनीको चुक्ता पूँजी रू. २० करोड २१ लाख पुग्नेछ । कम्पनीले जारी गर्न लागेको हकप्रद शेयरलाई इक्रा नेपालले ग्रेड ४ रेटिंग गरेको छ । यसले कम्पनीको हकप्रद शेयरको अवस्था आधारभूत पक्षभन्दा कमजोर रहेको देखाउँछ ।