शाइन रेसुंगाले दुई बैंकलाई प्राप्ति गर्ने, तीनओटै बैंकको शुक्रवार विशेष साधारण सभा
Jul 11, 2019
 
लगानी
असार २६, काठमाडौं(अस) । तीन विकास बैंक एउटै बन्ने सन्दर्भमा शुक्रवार प्रस्ताव पारित हुँदैछ । शाइन रेसुंगा डेभलपमेण्ट बैंकले पूर्णिमा विकास बैंक र भार्गव विकास बैंक लिमिटेडलाई प्राप्ती गर्न लागेको हो ।
शुक्रवार तीनओटै कम्पनीले प्राप्ती सम्बन्धी प्रस्तावलाई अन्तिम रुप दिनेछन् । शाइन रेसुंगाले भार्गव र पूर्णिमालाई प्राप्ती गर्न दुबै बैंकको चल अचल सम्पत्तिको मूल्यांकन प्रतिवेदन अनुमोदन गरी शेयरमूल्य ( स्वाप रेशियो) निर्धारण हुनेछ ।
दुबै बैंकलाई प्राप्ती गरेपश्चात बैंकको संस्थापक तथा सर्वसाधारण शेयरको स्वामित्व प्रतिशत फेरवदल हुने हुँदा सोही बमोजिमको प्रबन्धपत्र संशोधन गर्ने विशेष प्रस्तावलाई समेत शुक्रवारको सभाले पारित गर्नेछ ।
साथै दुबै बैंकलाई प्राप्ती गरेपश्चात हुन आउने चुक्तापूँजीको ४ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्तावलाई समेत अन्तिम रूप दिइनेछ । हाल १० जिल्ला कार्यक्षेत्र रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंक दुई बैंकलाई प्राप्ती गरेपछि राष्ट्रिय स्तरको विकास बैंक बन्नेछ ।
हाल शाइन रेसुंगाको चुक्तापूँजी रू. १ अर्ब ६२ करोड २६ लाख ६५ हजार छ भने भार्गव विकास बैंकको रू. ५० करोड १६ लाख र पूर्णिमा विकास बैंकको रू. ५५ करोड १२ लाख ८३ हजार रहेको छ । तीनओटै बैंक एक भएपछि रू. २ अर्ब ६७ करोड ५५ लाख ४८ हजार चुक्तापूँजी कायम हुनेछ ।
शाइन रेसुङ्गासँग मिसिने भएपछि पूर्णिमा र भार्गवको शेयर कारोबार बन्द छ । शाइन रेसुंगाले बुटवलमा, पूर्णिमाले रुपन्देही र भार्गवले नेपालगञ्जमा विशेष साधारण सभा आयोजना गर्न लागेका छन् ।
विशेष सधारण सभा प्रयोजनका लागि शाइन रेसुंगाले असार १९ गनेदेखि बुक क्लोज गरेको छ भने पूर्णिमाले फागुन २७ गते र भार्गवले जेठ १ गते बुक क्लोज गरेको छ ।
बुक क्लोजभन्दा एक दिन अघिसम्म कायम सदस्यहरुले विशेष सभामा भाग लिन र पूर्णिमा विकास बैंक र भार्गव विकास बैंकको प्रतिनिधित्व गर्दै शाइन रेसुंगाको शेयर सदस्य हुन पाउनेछन् ।