ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

काठमाडौंमा ‘रामेन हाउस’ सञ्चालनमा 

एक वर्षभित्रै १० आउटलेट खोल्ने कम्पनीको योजना

Jul 21, 2019  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । नेपाल होकाइदो बिजनेश ग्रूप प्रालिले काठमाडौंमा जापानी परिकार रामेनसहित विभिन्न ३० प्रकारका जापानी खाना उपलब्ध हुने रामेन हाउस सञ्चालनमा ल्याएको छ । विदेशको अनुभवलाई नेपालमा सदुपयोग गर्दै नेपालीलाई रोजगारी दिने उद्देश्यले कम्पनीले नेपालमा रेस्टुराँ सञ्चालन गरेको बनाएको बताएको छ । 

ग्रूपले नेपालको होटल समूह काठमाडौं गेस्ट हाउस प्रालि (केजीएच)सँगको सहकार्यमा पार्क भिलेज रिसोर्ट र काठमाडौं गेस्ट हाउसमा दुई ओटा आउटलेट सञ्चालनमा ल्याएको कम्पनीका अध्यक्ष अर्जुन अधिकारीले जानकारी दिए । ग्रूपमा विगत १७ वर्षदेखि जापानमा नेपाली तथा जापानी रेस्टुरेन्ट सञ्चालन गर्दै आएका व्यक्तिहरू आबद्ध छन् । आउटलेट विस्तार गर्दैै एक वर्षभित्र १० ओटासम्म पुर्‍याउने योजना रहेको अधिकारीले बताए । हाल यसमा ४ जनाको लगानी छ । 

बुढानीलकण्ठमा रहेको रेस्टुराँको नेपालका लागि जापानी राजदूत मासाशी ओगावाले शनिवार उद्घाटन गरेका छन् । कम्पनीले रामेन हाउस सञ्चालनका लागि २ करोड ७५ लाख रुपैयाँ लगानी गरिसकेको र आवश्यकता अनुसार लगानी बढाउने बताएको छ । हाल पार्क भिलेजमा रहेको सेन्टर किचनले २० भन्दा बढी रेस्टुराँलाई रामेन विक्री गर्दै आएको छ । 

रामेन जापानको चर्चित खाद्य परिकार हो । यो खाजालाई जापानमा छिटो तयार गर्न सकिने र स्वास्थ्यकर खाजाको रूपमा प्रयोग गरिने रामेन हाउसका प्रमुख सेफ पुरनबहादुर चौधरीले जानकारी दिए । रामेनमा नेपाली उत्पादन प्रयोग गर्ने उद्देश्य अनुरूप कम्पनीले देशका विभिन्न क्षेत्रमा किसानलाई गहुँ, जहु र फापर उत्पादन गर्न लगाएकोे बताएको छ । 

कम्पनीले नेपालमा स्वास्थ्यकर पानीका लागि जापानी प्रविधिमा आधारित सफा सूइ कम्पनीमार्फत पानी उत्पादन गर्ने सोच बनाएको पनि सञ्चालक अधिकारीले जानकारी दिए । काठमाडौंमा मात्र करीब २७ ओटा भन्दा बढी जापानी रेस्टुराँ सञ्चालनमा छन् । तीमध्ये १२ ओटा रेस्टुराँमा रामेन पाइन्छ । नेपाल भ्रमण वर्ष २०२० नजिकिरहेको बेला रामेनको परिकार नेपालमा पाइने भएपछि जापानी पर्यटकको नेपाल बसाइ लम्बिनमा थप सहयोग पुग्ने कम्पनीको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)