ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हिमालय एयरलाइन्सको ढाका उडान शुरू

सातामा ३ दिन उडान   

Jul 23, 2019  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौं–ढाका तथा ढाका–काठमाडौं उडान शुरू गरेको छ । उक्त एयरलाइन्सको १४१ यात्रुसहितको विमान सोमवार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट नेपाली समयअनुसार ११ : ३३ मा उडेर ढाकाको हजरत शाहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा बंगलादेशी समय १३ः०० मा अवतरण गरेको थियो । यस्तै ढाकाबाट एयरलाइन्सको विमान १०४ यात्रु बोकेर बंगलादेशी समय १४ : २६ मा उडेर त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नेपाली समय १५ : ४४ मा अवतरण गरेको एयरलाइन्सले जानकारी दिएको छ । 

प्रिमियम इकोनोमी क्लासमा ८ र इकोनोमी क्लासमा १५० सीट क्षमताको एयरबस ए३२०–२१४ न्यारोबडी जहाजले अबदेखि हरेक मंगलवार, बुधवार र शनिवार गरी सातामा ३ दिन उडान सेवा उपलब्ध गराउने भएको छ । १ घण्टाको उडान दूरी मात्र रहेकाले व्यावसायिक तथा भ्रमण प्रयोजनका लागि आउने यात्रु सोही दिन फर्कन मिल्नेगरी सुविधायुक्त उडान तालिका प्रस्ताव गरिएको कम्पनीले जानकारी दिएको छ । एयरलाइन्सले एसएयर एयर बीडी लिमिटेडलाई बंगलादेशमा आफ्नो जीएसए (साधारण विक्री एजेन्ट) नियुक्त गरेको छ ।

नेपालका लागि बंगलादेशी राजदूत मासफी बिन्ते साम्सले एयरलाइन्सको यो कदमबाट नेपाल–बंगलादेशबीचको व्यापार तथा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताइन् । एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले दुई देशका राजधानीबीचको यो उडानले व्यापार, जनशक्ति, पर्यटन तथा संस्कृति आदानप्रदानलाई अझ प्रगाढ बनाउने बताए । उनले भने, ‘दुवै बजारबाट यो रूटमा सीधा उडान सञ्चालन हुनुपर्ने माग छ । हामीले बढ्दो ग्राहकको आवश्यकतालाई ध्यानमा राखी उडान शुरू गरेका छौं ।’ उनका अनुसार नयाँ रूटले घुमफिरका लागि आउने यात्रु आगमनलाई बढाउने मात्र नभई बंगलादेशमा अध्ययन गरिरहेका र विशेषगरी चिकित्सा क्षेत्रमा अध्ययन गर्ने ठूलो संख्यामा रहेका नेपाली विद्यार्थीलाई समेत सेवा प्रदान गर्ने छ ।

एयरलाइन्सले नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धनसहित २० लाख पर्यटन भित्र्याउने लक्ष्यलाई दृष्टिगत गर्दै छिटै नै अन्य अन्तरराष्ट्रिय रूटमा पनि उडान गर्ने सोच राखेको उनले बताए । करीब ८० लाख जनसंख्या भएको ढाका दक्षिण एशियाको प्रमुख शहरहरूमध्ये एक हो । बंगलादेशको ठूलो र विश्वकै अधिक जनसंख्या भएको शहर ढाका परम्परागत रुचि भएकाहरूका लागि उपयुक्त पर्यटकीय गन्तव्यस्थल मानिन्छ । 

नेपाल भ्रमणा आउने पर्यटकमा बंगलादेशी पर्यटकको योगदान औसत २ प्रतिशत रहेको छ । सन् २०१९ को जनवरीदेखि जुनसम्मको छ महीनामा १० हजार ५९० बंगलादेशी पर्यटक नेपाल आएका छन् । सन् २०१८ को दाँजोमा बंगलादेशी पर्यटकको संख्या करीब २५ प्रतिशतले घटेको छ । नेपाल–चीन संयुक्त उद्यमका रूपमा सन् २०१४ अगस्टमा स्थापित हिमालय एयरलाइन्स अन्तरराष्ट्रिय उडान सेवा उपलब्ध गराउँदै आएको निजी वायुसेवा कम्पनी हो । हिमालय एयरलाइन्सले अहिले आबुधावी, दमाम, दोहा, दुबई, क्वालालम्पुर र ढाका गरी छ गन्तव्यस्थलमा उडान गर्दै आएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)