ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नयाँ पर्यटकीय गन्तव्य मर्धर सिमसार

Jul 25, 2019  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिपेश पौडेल

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–८ स्थित मर्धर सिमसार क्षेत्र नयाँ पर्यटकीय गन्तव्यको सूचीमा परेपछि पूर्वाधार विकासको काम शुरू भएको छ । 

सरकारले छानेका १०० पर्यटकीय गन्तव्यमा मर्धर सिमसार परेपछि अहिले उक्त क्षेत्रमा विभिन्न संरचना निर्माण भइरहेका छन् । अहिले नक्सा सीमांकन गरी तीन ओटा प्रतीक्षालय, तीन ओटा धारा, शौचालय, पार्क तथा पोखरी संरक्षण लगायतका कार्य चलिरहेका छन् । उक्त निर्माणको जिम्मा मेनुका सिमसार बहुउद्देश्यीय नारी समूहले पाएको छ । निर्माणको पहिलो चरणमा करीब ५० लाख बराबरको काम भएको निर्माण समितिकी अध्यक्ष विद्या सापकोटाले जानकारी दिइन् । उक्त क्षेत्र विकासका लागि रू. १४ करोड रकम प्रस्तावित गरेको पनि उनले जानकारी दिइन् । सोअन्तर्गत मन्दिर, भ्यूटावर, झोलुङ्गे पुल, पर्खाल तथा पार्किङ लगायतका संरचना निर्माण हुने उनले बताइन् । योजना अन्तर्गत यस क्षेत्रमा करीब ३२ विघा जमीनमा विभिन्न संरचना निर्माण हुनेछन् । 

ऐतिहासिक र पौराणिक महत्त्व बोकेको सिमसार क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटनको सम्भावना भएको स्थानीय दानबहादुर चौलागाईंले बताए । यो स्थान पर्यटकीय गन्तव्य बनेपछि आर्थिक गतिविधि पनि बढ्ने चन्द्रपुर नगर उद्योग वाणिज्य संघका अध्यक्ष सुनील जयसवाल बताउँछन् । पर्यटकका कारण व्यवसाय क्षेत्रमा लगानी बढ्ने र यस क्षेत्रका बासिन्दाको जीवनस्तरमा समेत परिवर्तन आउने उनको भनाइ छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल पर्यटन बोर्ड, स्थानीय तथा प्रदेश सरकार र सरोकारवालाबाट सिफारिश भएको र आवेदन परेका आधारमा मर्धर सिमसार क्षेत्रलाई नयाँ गन्तव्यका रूपमा छानेको हो । यस क्षेत्रमा साइवेरियन चरा आउने भएकाले पनि वृक्षरोपण लगायतका कार्य गरिने निर्माण समितिले जानकारी दिएको छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)