सुर्खेत । पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाको तल्लो गुटुमा सोलार ग्रीडले झिलिमिलि भएको छ । गुटुमा १०० किलोवाटको सोलार ग्रीड स्थापना भएपछि व्यवसायसँगै साना उद्योग सञ्चालनमा टेवा पुगेको हो ।
अझैसम्म राष्ट्रिय विद्युत् प्रसारण लाइनमा नजोडिएको चौकुनेमा सोलारबाट ऊर्जा निकालिएपछि दैनिक कामकाजमा सहजता आउनुका साथै व्यवसाय सञ्चालनमा समेत टेवा पुगेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले ‘ग्रामीण जीवनका लागि नवीकरणीय ऊर्जा कार्यक्रम’ मार्फत अहिले ३४४ घरमा विद्युतीकरण गरेको छ । एडीबीको ९० प्रतिशत अनुदान र स्थानीय उपभोक्ताको तर्फबाट १० प्रतिशतको लगानी रहेको ग्रीड साढे ५ करोड रुपैयाँ लागतमा सञ्चालनमा ल्याइएको हो ।
गत वैशाखको १५ गतेदेखि सञ्चालनमा ल्याइएको सोलार मिनी ग्रीड परियोजनाले गाउँलाई झिलिमिलि बनाएको गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले बताए । ‘सौर्य ऊर्जाको व्यवस्था भएपछि स्थानीय उद्योग सञ्चालन गर्न हौसिएका छन् । पहिला केही व्यवसाय गरौं भन्दा बिजुली नहुँदा केही गर्न सकिएन,’ चौकुने गाउँपालिका–८ बत्तीसपुतलीका कमल जिसीले भने, ‘अहिले गाउँमा फर्निचर, चाउमिन तथा ग्रील उद्योग समेत खुलेका छन् ।’
गाउँमा आएको सोलार मिनी ग्रिडले उद्योगमा विभिन्न व्यवसायको ढोका खुलेको उनको भनाइ छ । ‘अहिले सानो भए पनि गाउँमै व्यवसाय गरेको छु,’ भापरका लछिराम बुढाले भने, ‘केही महीनाअघि गाउँमा आएको सोलार सिस्टमबाट बिजुली बाल्न पाएका छौं, सानोतिनो पेसा व्यवसाय गर्न सजिलो भएको छ ।’
उनले वैदेशिक रोजगारीमा गएका गाउँले साथीहरू पनि सोलार मिनी ग्रिड जडान भएपछि अहिले आफूजस्तै व्यवसाय गरेर गाउँमै स्वरोजगार भएको बताए । उनका अनुसार अहिले चौकुने गाउँपालिका–८, मोतीसेराभित्र उद्योग खुल्ने क्रम बढेको छ ।
परियोजनामा स्थानीय उपभोक्तालाई विद्युत् प्रयोग गर्न प्रिपेड मिटर सिस्टम जडान गरिएको छ, जसले पहिले पैसा तिरे पछिमात्र बिजुली पाइन्छ । पाँच सयदेखि हजारसम्म स्थानीयले रिचार्ज कार्ड लिन्छन् र पछि प्रयोग गर्दै जाँदा पैसा घट्दै जाने र सकिएपछि लाइन आफै बन्द हुने प्रणाली गराइएको छ । यो परियोजनाले हरेक घरमा ६ ओटा बल्ब बाल्न सकिने व्यवस्था गरेको छ ।