ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निगमको नेपाल–जापान उडान भदौ १२ देखि

एकतर्फी भाडा रू. ३७ हजार

Jul 31, 2019  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । लामो समयको प्रतीक्षापछि अन्ततः नेपाल वायुसेवा निगमले भदौ १२ देखि जापानको ओसाकामा सीधा उडान गर्ने भएको छ । निगमले वाइडबडी मार्फत ओसाका रूटका लागि काठमाडौं–ओसाकाको भाडादर एकतर्फी रू. ३६ हजार ९९९ र दुईतर्फी भाडा रू. ७२ हजार ८१४ कायम गरेको छ । निगमले दशैंअघि पुनःअर्को भाडादर निर्धारण गर्ने पनि उल्लेख गरेको छ । 

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट निगमले ओसाका कान्साइ अन्तरराष्ट्रिय विमानस्थलमा मंगलवार, बिहीवार र शनिवार गरी साताको तीन दिन उडान गर्ने जानकारी दिएको छ । एक दशकअघि नै उक्त विमानस्थलमा उडान शुरू गरेको निगमले जहाज अभावका कारण उडान बन्द गरेको थियो । निगमले वाइडबडी ए–३३० जहाजमार्फत पुनः ओसाका उडान गर्न लागेको हो ।

निगमले गत वर्ष असार र साउनमा दुईओटा वाइडबडी जहाज खरीद गरेको थियो । निगमले चीन, जापान, कोरिया र साउदी अरबमा उडान गर्ने व्यापारिक योजनाअनुसार वाइडबडी जहाज भिœयाएको हो । निगमले अहिले भारतको नयाँदिल्ली, बैङ्लोर, मुम्बई, मलेशिया, सिंगापुर, बैंकक र कतारमा उडान गर्दै आएको छ । निगमसँग अन्तरराष्ट्रिय उडानका लागि हाल वाइडबडी ए–३३०, र न्यारो बडी ए–३२० जहाज छन् ।  

काठमाडौं–जापान उडानको समयावधि ६ घण्टा र ओसाका–काठमाडौं साढे ७ घण्टा हुने निगमले जानकारी दिएको छ । वाइडबडी जहाजले पहिलोपटक लामो गन्तव्यमा उडान गर्न लागेको निगमका सहप्रवक्ता नवराज कोइरालाले बताए । निगमले गत माघ १९ गते जापान उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट विमान सञ्चालनको अनुमति प्रमाणपत्र (एओसी) पाएको थियो । नेपाल–जापानबीचको द्विपक्षीय हवाई सम्झौताअनुसार निगमले जापानको हानेदा एयरपोर्टबाहेकका अरू सबै विमानस्थलमा उडान तथा अवतरण गर्न पाउनेछ । २०७५ पुस २५ गते जापानका परराष्ट्रमन्त्री तारो कोनो नेपाल भ्रमणमा रहेका बेला हप्तामा १४ उडान गर्नेगरी काठमाडौं–नारिता हवाई सेवा सम्झौता भएपछि निगमले त्यसका लागि जापान सिभिल एभिएशन ब्यूरो (जेक्याब) लाई पत्राचार गरेको थियो । निगमले जापानकै नारिता अन्तरराष्ट्रिय विमानस्थलमा पनि उडान प्रक्रिया अघि बढाएको छ । 

नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार जापानबाट सन् २०१८ मा २९ हजार ८१७ पर्यटक नेपाल आए । नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न नेपाल–जापान उडानले सहयोग गर्ने निगमको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)