धनगढी । सुदूरपश्चिमका ८२ स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको पहुँच पुगेको छ । प्रदेशभित्रका कुल ८८ स्थानीय तहमध्ये ८२ ओटामा विभिन्न बैंकका शाखा सञ्चालन भई कारोबार समेत शुरू भइसकेको राष्ट्र बैंकले जानकारी दिएको हो ।
प्रदेशका ९ ओटै जिल्लामा गरी हालसम्म बैंक तथा वित्तीय संस्थाको संख्या ६०५ पुगेको छ । ‘क’ श्रेणीका वाणिज्य बैंकहरूको शाखा मात्र २५१ पुगेको राष्ट्र बैंकको तथ्यांक छ । प्रदेशभित्र सबैभन्दा बढी कैलाली र त्यसपछि कञ्चनपुरका विभिन्न बजार क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको उपस्थिति बढेको छ । अब बाजुरा, बझाङ र डोटीका ६ स्थानीय तहमा मात्र शाखा विस्तार हुन बाँकी छ । बाँकी स्थानमा केही समयभित्रै शाखा सञ्चालनमा ल्याउनेगरी विभिन्न बैंकले आन्तरिक तयारी गरिरहेको राष्ट्र बैंकले बताएको छ ।
लगानी र निक्षेप संकलनका हिसाबले सुदूरपश्चिम प्रदेश अन्य प्रदेशको तुलनामा पछाडि परेको बैंकर्स क्लब, धनगढीका अध्यक्ष टेकराज भट्टले बताए । यो प्रदेशको कुल निक्षेपमा १ दशमलव ९८५ प्रतिशत र कर्जामा २ दशमलव ८७५ प्रतिशत मात्र योगदान रहेको उनले बताए । कैलाली र कञ्चनपुरमा मात्रै बैंक तथा वित्तीय संस्था केन्द्रित हुँदा ग्रामीण समुदायको अर्थतन्त्र चलायमान हुन नसकेको बैंकका अधिकारीहरू नै बताउँछन् ।
प्रदेशभित्र सञ्चालित बैंक तथा वित्तीय संस्थाले २०७५ पुस मसान्तसम्म रू. ५९ अर्ब ८३ करोड निक्षेप संकलन र ७९ अर्ब २२ करोड ऋण लगानी गरेको तथ्यांक राष्ट्र बैंक धनगढीको छ । विगतमा निक्षेप संकलनको अनुपात बढी देखिन्थ्यो भने पछिल्लो समय निक्षेपको तुलनामा कर्जा प्रवाह बढ्न थालेको बंैकरहरूको भनाइ छ । थोरै भए पनि पछिल्लो समय साना तथा केही ठूला उद्योग होटल लगायत व्यावसायिक प्रतिष्ठान खुल्न थालेपछि बैंक तथा वित्तीय संस्थाको लगानी बढ्न थालेको राष्ट्र बैंक, धनगढीका किरण पण्डितले बताए । आर्थिक गणना २०७५ को प्रारम्भिक नजीता अनुसार प्रदेशभित्र ६२ हजार ९७० आर्थिक प्रतिष्ठान छन् । ‘आव २०७४/७५ सम्ममा मात्रै प्रदेशभित्र १०७ उद्योग स्थापना भएका छन्,’ उनले भने, ‘यसले बैंक तथा वित्तीय संस्थालाई लगानी बढाउन सहज बनाएको छ ।’
वित्तीय पहुँचका हिसाबले कर्णाली प्रदेश अझै पनि पछाडि परेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । कर्णालीमा ११ हजार १२४ जनसंख्या बराबर एक शाखा पर्छ । तर समग्र नेपालको हकमा भने प्रतिशाखा ६ हजार ८५८ जनसंख्या पर्छ । जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ अनुसार प्रदेशमा आप्mनो नाममा रहेको खाता प्रयोग गर्ने पुरुष ३७ दशमलव १ तथा महिला ३३ दशमलव ७ प्रतिशत छ ।