ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नर्सरीबाट वार्षिक लाखौं आम्दानी

Aug 12, 2019  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन गिरी

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ जुडाका पानसिंह धामी दुई दशक यतादेखि निरन्तर नर्सरी व्यवसायमा संलग्न छन् । २०४५ सालमा ५० रुपैयाँ लगानीमा शुरू गरेको नर्सरीबाट उनले अहिले वार्षिक ३५ लाखभन्दा बढी आम्दानी गरिरहेका छन् । 

काउली, रायो, खुर्सानी, आँप र कागतीका बिरुवाबाट नर्सरी शुरू गरेका उनले हाल विभिन्न प्रजातिका बिरुवा उत्पादन गरिरहेका छन् । ‘१० वर्षसम्म तरकारीको नर्सरीसँगै फलफूलका बिरुवा उत्पादन गरें, अहिले व्यावसायिक रूपमा बिरुवा उत्पादन गरिरहेको छु,’ धामीले भने, ‘परिवारको राम्रो सहयोग पाएको छु, परिवारका सबै सदस्य नर्सरीमा आबद्ध छौं ।’ 

२०४५ सालमा नेपाल–भारत नाकाबन्दीका बेला भारतबाट १५ आँपका बिरुवा किनेर ल्याउँदा एसएसबीले ल्याउन नदिएपछि धामीले यहीं बिरुवा उत्पादन शुरू गरेको बताए । 

हाल उनी र उनका छोरा मदन धामी नर्सरी व्यवसायमा सक्रिय छन् । उनका भाइ प्रतापसिंह धामीले पनि ‘धामी फलफूल तथा वन नर्सरी उद्योग’ स्थापना गरेर बिरुवा उत्पादन गर्दै आएका छन् । त्यस्तै उनका नाती आयुष धामीले पनि ‘आयुष फलफूल नर्सरी फर्म’ दर्ता गरी व्यवसाय गर्दै आएका छन् । फलफूल खेतीका लागि शुक्लाफाँटा नगरपालिका–७ जुडा निकै अनुकूल रहेको धामीको भनाइ छ । ‘बुवाले पहिलेदेखि नै नर्सरीमा बिरुवा उत्पादन गर्नुहुन्थ्यो, मैले पनि कृषि जेटिए पढेर अहिले यसैलाई व्यवसाय बनाएको छु,’ उनका छोरा मदनले भने, मैले फलफूलबाहेक पनि अन्य प्रजातिका बिरुवा पनि उत्पादन गरेको छु ।’ 

धामी नर्सरीमा आँप, लिची, अनार, नास्पाती, अंगुर, कागती, नरिवल, सुपारी, अमृतफल, अमला, अशोक, भुईंकटहर, बोतलपाम, चाइनेजपाम, साइकस, एरोकेरिया, फोनिसपाम, श्रीखण्ड, रक्तचन्दन, लालचन्दन, रुद्राक्ष, कपुर, सपोटा गुलाबजामुन लगायतका बेर्ना (बिरुवा) छन् । उनले नर्सरीबाट हरेक वर्ष विभिन्न प्रजातिका २ लाख बढी बिरुवा उत्पादन गरी बिक्री गर्ने गरेको बताए । नर्सरीबाट धामीको परिवारले वार्षिक ३५ देखि ४० लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको छ । नर्सरीबाट थोरै लगानीबाट धेरै आम्दानी लिन सकिने उनको भनाइ छ । धामी परिवारले उत्पादन गरेको नर्सरीका बिरुवाको सुदूरपश्चिमका सबै जिल्लामा माग छ  ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)