काठमाडौं । गत आव २०७५/७६ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका १८ जलविद्युत् कम्पनीमध्ये ९ ओटाले मात्र नाफा बढाएका छन् । अघिल्लो आव २०७४/७५ को तुलनामा ती कम्पनीले मात्र नाफा बढाउन सकेका हुन् । बाँकी ९ मध्ये ३ कम्पनीले नाफा घटाएका छन् भने ६ कम्पनी नोक्सानमा छन् ।
हालसम्म वित्तीय विवरण सार्वजनिक गरेका जलविद्युत्् कम्पनीमध्ये हिमालयन पावर पार्टनरको वित्तीय विवरण भने यहाँ उल्लेख छैन । लमजुङमा कम्पनीको २७ मेगावाट क्षमताको आयोजना निर्माणाधीन रहेकाले व्यापारिक उत्पादन शुरू भइसकेको छैन । यद्यपि कम्पनीले वित्तीय विवरण भने प्रकाशित गरेको छ ।
चार जलविद्युत् कम्पनीको आयोजना निर्माणाधीन अवस्थामै रहेकाले तिनीहरूले विद्युत् विक्री आय गरेका छैनन् । ती कम्पनीले गरेको लगानीको लाभांश र ब्याज आम्दानीबाट केही नाफा भने गरेका छन् । नेप्सेमा सूचीकृत ३२ कम्पनीमध्ये १३ ओटाले हालसम्म गत आवको वित्तीय विवरण सार्वजनिक गरेका छैनन् ।
अघिल्लो आवको तुलनामा गत आवमा सबैभन्दा बढी प्रतिशत नाफा वृद्धि नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको छ । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको नाफा ५२४ प्रतिशत बढेको हो । अघिल्लो आवमा कम्पनीले रू. १४ लाख ६७ हजार नाफा आर्जन गरेको थियो भने गत आवमा रू. ९१ लाख ६५ हजार आर्जन गरेको छ । विद्युत् उत्पादन बढेकाले कम्पनीको नाफामा वृद्धि भएको देखिन्छ । यस्तै अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीले ऋण घटाएको छ ।
६ कम्पनीको शेयरमूल्य अंकित मूल्यभन्दा तल
कम्पनीको वित्तीय विवरणको आधारमा दोस्रो बजारमा कारोबार हुने शेयरमूल्यमा प्रभाव पर्ने लगानीकर्ता बताउँछन् । विवरण सार्वजनिक गरेका कम्पनीमध्ये ६ ओटाको शेयरमूल्य अंकित मूल्यभन्दा मुनि छ भने १३ कम्पनीको सोभन्दा बढी छ ।
६ कम्पनीमध्ये तीन कम्पनीले अघिल्लो आवको तुलनामा गत आवमा नाफा बढाएका छन् । नेशनल हाइड्रोपावर, रिडी हाइड्रोपावर र सिनर्जी पावरको नाफा बढेको छ । आँखुखोला जलविद्युत्, खानीखोला र युनियन हाइड्रोपावरको नाफा घटेको छ भने शेयरमूल्य पनि अंकित मूल्यभन्दा तल पुगेको छ ।
चिलिमेको विद्यत् विक्री सबैभन्दा बढी गत आवको वित्तीय विवरण प्रकाशित गरेका १९ जलविद्युत् कम्पनीमध्ये ९ कम्पनीको विद्युत् विक्री आय अघिल्लो आवको तुलनामा बढेको छ भने पाँच योजनाको घटेको छ ।
चार योजनाको आयोजना निर्माण सम्पन्न भइनसकेकाले नाफा विद्युत् विक्री भएको छैन । चिलिमे जलविद्युत् आयोजनाले गत आवमा रू. १ अर्ब १७ करोडको विद्युत् विक्री गरेको छ । कम्पनीले अघिल्लो आवमा रू. १ अर्ब १३ करोडको विद्युत् विक्री गरेको थियो । तर, गत आवमा रोयल्टी खर्च बढेपछि कम्पनीको नाफा २२ प्रतिशत घट्न पुगेको छ ।
युनियन हाइड्रोपावरले अघिल्लो आवको तुलनामा गत आवमा १५५ प्रतिशत विद्युत् विक्री गरेको छ । अघिल्लो आवमा रू. २ करोड ८१ लाखको विद्युत् विक्री गरेको कम्पनीले गत आवमा रू. ७ करोड १८ लाखबराबरको विक्री गरेको छ । कम्पनीद्वारा प्रवद्र्धित मिदिमखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न भई विद्युत् उत्पादन भएपछि विक्री बढेको हो ।