ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिकाइ उपलब्धि बढाउन तालीमको पूर्ण प्रयोग जरुरी

Aug 22, 2019  
शिक्षा
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

काठमाडौं । विद्यार्थीको सिकाइ उपलब्धि बढाउन सरकारले शिक्षक/शिक्षिकालाई तालीम दिँदै आए पनि अझै गुणस्तर सुधारको खाँचो रहेको विज्ञहरूले औंल्याएका छन् । नेपाल सरकारको विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडीपी)अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षा तथा मानव स्रोत विकास केन्द्र (एसएसडीपी)सँगको सहकार्यमा राष्ट्रिय योजना आयोगले गरेको अध्ययनले कक्षाकोठामा तालीमको प्रभावकारी कार्यान्वयन नभएको समेत देखाएको छ ।

विद्यार्थीले गणित विषयमा हासिल गरेको नतीजालाई उक्त अध्ययनले मुख्य आधार बनाएको थियो, जसमा कक्षा ९ को अन्त्यमा पुगेका ३ हजार २०१ विद्यार्थीमध्ये ५६ प्रतिशतले कक्षा ८ को उक्त विषयको प्रश्नको गलत उत्तर दिएका छन् । फिल्डमा खटिएका अनुसन्धाताका अनुसार एकै किसिमको तरीकाबाट परीक्षा लिँदा सबैजसो विद्यालयमा उस्तै नतीजा देखिएको छ । यस्तै कक्षा १० को अन्त्यमा पुगेका २ हजार ६४५ मध्ये ४५ प्रतिशत विद्यार्थीले कक्षा ९ को गणित प्रश्नको गलत उत्तर दिए ।

शिक्षकलाई अध्यापनका लागि दिइएको ३५–४० मिनेटको अवधिमा योजना अनुसार अध्यापन गर्न नसकिने अध्ययनकर्ताहरूको निचोड छ । ‘कुनै विद्यालयमा शैक्षिक सत्र नै छोटो पाइयो । साथै स्थानीय सामग्रीका लागि बजेट नपुग देखियो । कक्षामा नवीन विधिहरूको प्रयोगमा पनि उत्प्रेरणा कम भएको महसूस भयो,’ एक अनुसन्धानकर्ताले भने । 

शिक्षकहरूको पढाउने शैलीमा महत्त्वपूर्ण परिवर्तनको खाँचो उक्त अध्ययनले देखाएको छ । साथै पर्याप्त पूर्वज्ञान र क्षमताको उजागर गरेर अध्यापन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ । कक्षाकार्यमा सक्रिय सहभागिता र गृहकार्यका लागि विद्यार्थीको आन्तरिक अभिप्रेरणा तथा बाह्य उत्तरदायित्व बढाउनुपर्ने सुझाव पनि दिइएको छ । ‘विद्यार्थीको सिकाइका लागि शिक्षणको गुणस्तर महत्त्वपूर्ण पक्ष हो । शिक्षणको गुणस्तर सुधारमा शिक्षक तालीम आवश्यक छ । शिक्षक तालीम कार्यक्रममा धेरै समय र प्रशस्त आर्थिक स्रोत खर्च भएको छ । यसको उपयोग विद्यार्थीको सिकाइ उपलब्धिमा हुनुपर्छ,’ उक्त अनुसन्धानले सुझाव दिएको छ ।

१६ जिल्लाका २०३ विद्यालय उक्त अध्ययनमा समेटिएका थिए, जसमा सोलुखुम्बु, जुम्ला, पाँचथर, मोरङ, पर्सा, नुवाकोट, काभ्रे, सिन्धुली, चितवन, लमजुङ, बाग्लुङ, अर्घाखाँची, कपिलवस्तु, दैलेख, सल्यान, अछाम लगायत जिल्लाका विद्यालय छन् । यो अनुसन्धान अध्ययनमा मिनेसोटा विश्वविद्यालय र टफ्ट्स विश्वविद्यालय समेत सहभागी थिए । अन्तरराष्ट्रिय अनुसन्धानकर्ता पल ग्लेवी (मिनेसोटा विश्वविद्यालय), जुली सफ्नर (टफ्ट्स विश्वविद्यालय) र उत्तम शर्मा (स्वतन्त्र परामर्शदाता)को सहकार्यमा उक्त अध्ययन अन्तर्गत शिक्षकको प्रभाव मूल्यांकन समेत भएको थियो ।

शिक्षकले गर्न जरुरी

  • तालीममा सहभागी हुने र क्रियाकलापमा सक्रिय रहने   
  • तालीमको अवधिमा नयाँ अवधारणा र अभ्यासका बारेमा सिक्ने । 
  • सिकेका ज्ञान र शीपलाई कक्षाकोठामा कसरी प्रयोग गर्ने भन्नेमा सृजनशील रहने ।   
  • नयाँ शिक्षण सम्बन्धी अभ्यासलाई कक्षाकोठामा राम्रोसँग प्रयोग गर्ने ।

तालीमको सम्बन्धमा

  • तालिमका लागि पर्याप्त समय र अवसर प्राप्त हुनुपर्दछ ।    
  • तालीममा भाग लिन आन्तरिक उत्प्रेरणा वा बाह्य जवाफदेहिता आवश्यक । 
  • आर्थिक स्रोतको व्यवस्था, सट्टा शिक्षकको व्यवस्था हुनुपर्छ ।
  • पूर्व अनुभव र पर्याप्त शीपले प्रभावकारी नतीजा ल्याउँछ । 
  • तालीमको विषय महत्त्वपूर्ण र तालीम पनि उच्चस्तरको हुनुपर्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)